विराटनगर । पर्यटक (टुरिस्ट) भिसामा नेपाल आएर गैरकानुनी रूपमा धर्म प्रचार तथा प्रशिक्षण दिने सिंगापुरका नागरिक कोह वी हकले सन् २०१६ देखि हालसम्म ३६ पटक नेपाल ओहोर दोहोर गरेको खुलेको छ ।
उनीसहित ६ जना सिंगापुरका नागरिकहरुलाई शनिबार बिहान प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ परेका हक धर्म प्रचार तथा प्रशिक्षण दिने मुख्य व्यक्ति हुन् ।
विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्टर्न स्टारको सभाहलबाट शनिबार उनीहरूलाई नियन्त्रणमा लिइएको हो । हक र लोह ली पेङको नेतृत्वमा रहेको टोलीले लाफिङ बुद्ध सम्बन्धी धार्मिक कार्यक्रम गोप्य रूपमा सञ्चालन गरिरहेको थियो । उनीहरुको साथबाट प्रहरीले राहदानी बरामद गरेको छ । जसअनुसार पक्राउ परेकाहरु सबै ६ जना पर्यटक भिसामा नेपाल आएका सिंगापुरका नागरिक हुन् । पक्राउ पर्नेहरूमा कोह वी हक, लोह ली पेङ, ली बेङ एन, लोह ली तियान, ओङ चिउ कोक र चिउ टेक फोक रहेका छन् ।
कार्यक्रममा १६ वर्षमुनिका (१२–१३ वर्षका) १२ जना नेपाली किशोरीहरूलाई प्रशिक्षण दिइरहेको पाइएको थियो । त्यस्तै कार्यक्रममा एकजना नेपाली महिला निरा राजभण्डारीको पनि सहभागिता थियो । होटलको हलमा लाफिङ बुद्धको मूर्ति राखेर उनीहरूले प्रशिक्षण दिइरहेका थिए । ‘धार्मिक प्रचारका लागि यहाँ १२–१३ वर्षका बच्चाहरूलाई र महिलाहरूलाई खासगरी भेला पारिएको थियो । उनीहरूले होटलमा पुरै पर्दा लगाएर अत्यन्तै गोप्य रूपमा कार्यक्रम गरिरहेका थिए । पर्यटक भिसामा आएर उनीहरूले त्यस्तो गर्न पाइँदैन नि त,’ स्रोतले भन्यो, ‘बन्द कोठा जस्तो थियो । कसैलाई जान दिइएको थिएन । यो एक प्रकारको शंकास्पद गतिविधि जस्तै थियो ।’
अनुसन्धानका क्रममा यो समूहले लामो समयदेखि नेपालमा सांगठनिक रूपमै धार्मिक गतिविधि गर्दै आएको तथ्य खुलेको छ । ‘नेतृत्व गरिरहेका मुख्य व्यक्ति सिंगापुरका नागरिक कोह वी हकले सन् २०१६ देखि हालसम्म ३६ पटक नेपाल आगमन तथा प्रस्थान गरेको राहदानीको रेकर्डबाट देखिएको छ,’ सुरक्षास्रोतले भन्यो ।
उनीहरूले नेपालमा संगठित रूपमै धर्म प्रचार गर्न विशेषगरी महिला तथा साना बालबालिकाहरूलाई लक्षित गर्दै होटलहरूमा गोप्य रूपमा कार्यक्रम गर्दै आएका थिए । यसअघि उनीहरूले उदयपुर जिल्लामा समेत घर नै भाडामा लिएर यस्तै किसिमका शंकास्पद गतिविधि गर्दै आएको स्रोतको दाबी छ ।
पर्यटक भिसामा आएर धार्मिक गतिविधि गर्नु अध्यागमन कानुनको ठाडो उल्लंघन हो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले विदेशी नागरिकलाई कानुनविपरीतको काम गरेकाले पक्राउ गरिएको पुष्टि गरे । ‘पर्यटक (टुरिस्ट) भिसामा आएर बुद्ध धर्मसम्बन्धी प्रचारप्रसार गर्ने तथा पढाउने काम गरिरहेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो । पर्यटक भिसामा आएका कुनै पनि विदेशी नागरिकले नेपाल सरकारको अनुमतिबिना यसरी पढाउन वा धर्म प्रचार गर्न पाउँदैनन्,’ कोइरालाले भने, ‘हाल उनीहरू नेपाल प्रहरीको नियन्त्रणमा छन् ।’ नेपालको अध्यागमन कानुनविपरीत काम गरेको कसुरमा उनीहरूलाई थप कारबाहीका लागि काठमाडौंस्थित अध्यागमन विभाग पठाउने तयारी भइरहेको जनाइएको छ ।
के हो लाफिङ बुद्ध ?
लाफिङ बुद्ध (हाँसिरहेका बुद्ध) मूलतः चिनियाँ बौद्ध परम्परा र लोक धर्ममा पुजिने बुदाई (भविष्यका बुद्ध÷मैत्रेय) को एक स्वरूप हो । परम्परागत रूपमा यसलाई सुख, शान्ति, भाग्य र समृद्धिको प्रतीक मानिन्छ । तर, पछिल्लो समय सिंगापुर, मलेसिया र ताइवानलगायतका देशहरूमा यसैलाई आधार मानेर विभिन्न नव–धार्मिक सम्प्रदाय सक्रिय छन् ।
परम्परागत बुद्ध धर्मभन्दा फरक प्रकृतिका यी सम्प्रदायहरूले छुट्टै किसिमको आध्यात्मिक ज्ञान र मुक्तिको मार्ग बाँड्ने भन्दै गोप्य सञ्जाल चलाउने गर्छन् । यस्ता समूहहरूले बौद्ध, ताओ र कन्फ्युसियस दर्शनलाई मिसाएर आफ्नो एजेन्डाअनुसार प्रचार गर्ने गर्छन् । उनीहरूले विशेषगरी महिला, साना बालबालिका र विपन्न वर्गलाई लक्षित गरी ध्यान, प्रवद्र्धन र प्रशिक्षणका नाममा आकर्षित गर्ने र विस्तारै धर्मान्तरण गराउने गरेको पाइन्छ । विराटनगरमा भेला गरिएका अधिकांश साना किशोरी र महिला हुनुले पनि यो समूहको उद्देश्य शंकास्पद देखिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।