विराटनगर । लागू औषध नियन्त्रणका लागि सञ्चालित ‘अपरेसन ब्राउन’ मा पाएको उल्लेख्य सफलता र क्षतिग्रस्त भौतिक संरचनाको पुर्ननिर्माणमा पुर्याएको कुशल नेतृत्वका कारण वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोतिलाल योञ्जन तामाङ २०८२ साल चैत्र महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विभागीय मूल्य-मान्यता र आदेश-निर्देशनलाई उच्च मनोबलका साथ पालना गरी व्यावसायिक इमानदारिता प्रदर्शन गरेको भन्दै निरीक्षक तामाङलाई यो सम्मान प्रदान गरेको हो।
‘अपरेसन ब्राउन’ मा विशेष सफलता
झापाको भद्रपुर क्षेत्रमा लागू औषधको जालो तोड्न निरीक्षक तामाङले ‘अपरेसन ब्राउन’ अभियान नै सञ्चालन गरेका थिए। सोही अभियान अन्तर्गत चैत्र महिनाभित्र मात्रै लागू औषध कारोबारमा संलग्न १५ वटा मुद्दा दर्ता गरी ३२ जना अभियुक्तलाई पक्राउ गर्न उनी सफल भएका छन्। उनीहरूको साथबाट ३४६ ग्राम ५७ मिलिग्राम ब्राउन सुगर र ३ लाख रुपैयाँ नगद समेत बरामद गरिएको थियो। लागू औषध विरुद्धको यो कठोर कदमले सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणमा ठूलो सहयोग पुगेको प्रदेश प्रहरीको मूल्यांकन छ।
क्षतिग्रस्त कार्यालयको कायापलट र भौतिक सुधार
अपराध नियन्त्रणमा मात्र नभई कार्यालय व्यवस्थापनमा पनि निरीक्षक तामाङको भूमिका प्रेरक देखिएको छ। जेन्जी आन्दोलनका क्रममा पूर्ण रूपमा क्षतिग्रस्त बनेको वडा प्रहरी कार्यालय भद्रपुर र ब्यारेकको मर्मत सम्भारमा उनले विशेष सक्रियता देखाएका थिए। स्थानीय निकाय, विभिन्न संघ-संस्था र स्थानीयवासीसँग समन्वय गरी कार्यालयका लागि आवश्यक फर्निचर, विद्युतीय सामग्री व्यवस्थापन र मेची बिटको पुनः स्थापना गर्न उनले नेतृत्वदायी भूमिका निर्वाह गरे।
यस्तै, प्रहरी चौकी मेचीपारीको नयाँ जग्गा प्राप्ति र वडा प्रहरी कार्यालय भद्रपुरको आफ्नै सुविधासम्पन्न भवन निर्माणका लागि उनले गरिरहेको निरन्तर पहललाई विभागले उच्च प्रशंसा गरेको छ।
चौतर्फी कार्यसम्पादन
आफ्नो जिम्मेवारीलाई बहुआयामिक ढङ्गले पुरा गर्ने क्रममा निरीक्षक तामाङले चैत्र महिनामा १० लाख ४७ हजार रुपैयाँ बराबरको भन्सार छलीका अवैध सामान बरामद गरेका छन्। साथै, लामो समयदेखि फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याएका छन्।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक अभियान सञ्चालन गरेर आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन र प्रहरी-नागरिक सम्बन्ध सुमधुर बनाउन उनले उत्कृष्ट कार्यसम्पादन गरेका छन्। व्यावसायिक निष्ठा र कर्तव्यपरायणताको कदर गर्दै उनलाई चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।