विराटनगर। नेपाल सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि सोही बमोजिमको निर्देशन जारी गरेको छ । तर, मन्त्रालयको यो नयाँ निर्णयले विराटनगरस्थित कोशी अस्पतालमा भने सेवा प्रवाहलाई लिएर अन्योल र सेवाग्राहीमा चिन्ता बढाएको छ ।
मन्त्रालयले जारी गरेको सूचनामा स्वास्थ्यकर्मीहरूको मनोबल बढाउन शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने र सो दिन ओपिडी (बहिरङ्ग) सेवा बन्द रहने स्पष्ट संकेत गरेको छ । यद्यपि, आइतबारका लागि पूर्व–निर्धारित शल्यक्रिया (ओटी) लगायतका सेवाहरू विरामीको सहजता हेरी रिसेड्युल गर्ने र आकस्मिक सेवाहरू २४ सै घण्टा सुचारु राख्ने भनिएको छ ।
यता कोशी अस्पताल प्रशासनले सार्वजनिक गरेको नयाँ समय तालिका सम्बन्धी सूचनामा भने बिदाको दिन सेवा दिने वा नदिने भन्ने विषयमा स्पष्ट पारिएको छैन । यसअघि कोशी अस्पतालमा बिदाका दिनहरूमा पनि ओपिडी सेवा सुचारु रहने गरेको थियो । तर मन्त्रालयको पछिल्लो निर्देशनपछि अब शनिबार र आइतबार पहिले झैं ओपिडी सेवा सुचारु रहन्छ कि रहँदैन भन्ने कुरा अन्योलमा परेको छ ।
दैनिक करिब १५०० विरामीले उपचार सेवा लिँदै आएको कोशी अस्पतालमा अब हप्ताको पाँच दिन मात्र ओपिडी खुल्ने हो भने सेवाग्राहीको चाप अत्यधिक बढ्ने निश्चित देखिएको छ । सात दिनको विरामीको चाप पाँच दिनमा खुम्चिँदा अस्पतालमा थेगिनसक्नु भीड हुने र विरामीले सास्ती भोग्नुपर्ने सम्भावना प्रवल छ ।
मन्त्रालयको निर्देशनले स्वास्थ्यकर्मीको हितलाई ध्यानमा राखेको देखिए पनि, कोशी अस्पताल जस्तो ठूलो चाप हुने स्वास्थ्य संस्थामा यसले निम्त्याउने भीड र अन्योलको व्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्न टड्कारो बनेको छ । अस्पताल प्रशासनले बिदाका दिनको सेवाका बारेमा स्पष्ट जानकारी नदिँदा टाढा–टाढाबाट आउने विरामीहरू थप मर्कामा पर्ने देखिएको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।