धरान । आँखा उपचार सेवाको पहुँच र गुणस्तर सुधार गर्ने उद्देश्यले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठानबीच समझदारी–पत्रमा हस्ताक्षर भएको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति विक्रमप्रसाद श्रेष्ठ र तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक सन्दुक रुइतले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार दुवै संस्थाबीच शिक्षक तथा विद्यार्थी आदानप्रदान, संयुक्त आँखा स्वास्थ्य शिविर तथा सर्जिकल क्याम्प सञ्चालन, विशेषज्ञ सेवा विस्तार, निरन्तर चिकित्सा शिक्षा (सिएमई) तालिम तथा आँखा उपचार क्षेत्रमा संयुक्त अनुसन्धानका कार्यक्रम सञ्चालन गरिनेछ। प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठका अनुसार यो सहकार्यबाट पूर्वी नेपालमा गुणस्तरीय आँखा उपचार सेवा विस्तारमा टेवा पुग्ने अपेक्षा छ।
प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थासँग सहकार्य गर्दै सेवा, शिक्षा र अनुसन्धानको गुणस्तर अभिवृद्धि गर्ने दीर्घकालीन नीति अन्तर्गत यस सम्झौतालाई महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ। यसबाट आम नागरिकले थप प्रभावकारी र गुणस्तरीय आँखा उपचार सेवा पाउने विश्वास गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।