विराटनगर । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाका १० विषयगत समिति र दुई संयुक्त समितिहरूले आज नयाँ नेतृत्व पाउँदैछन्। लामो समयको प्रतिक्षापछि “मिनी संसद्” मानिने यी समितिहरूले आज दिउँसो १ बजे बस्ने बैठकबाट औपचारिक रूपमा सभापति चयन गर्न लागेका हुन्।
कुल १० वटा विषयगत समितिमध्ये ९ वटामा एकल उम्मेदवारी परेपछि नेतृत्व निर्विरोध चयन भइसकेको छ। यद्यपि, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भने सहमति जुट्न नसक्दा चुनावी रस्साकस्सी हुने भएको छ। सो समितिको नेतृत्वका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. ओजश्वी शेरचन र नेकपा एमालेका गुरु बरालबीच प्रतिस्पर्धा हुँदैछ।
यता, निर्विरोध हुने अन्य समितिहरूमा कानून, न्याय तथा मानव अधिकार समितिमा रास्वपाकी समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी र पूर्वाधार विकास समितिमा आशिष गजुरेल रहेका छन्। त्यसैगरी, महिला तथा सामाजिक मामिला समितिमा आकृती अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल र सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसका भरत खड्काको नेतृत्व पक्का भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी तथा उद्योग, वाणिज्य, श्रम र उपभोक्ता हित समितिमा रहबर अन्सारीले निर्विरोध नेतृत्व सम्हाल्ने निश्चित भएको छ।
विषयगत समितिबाहेक दुईवटा संयुक्त समितिमा पनि आजै नेतृत्व चयनको प्रक्रिया अघि बढ्दैछ। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रास्वपाका गणेश कार्की र नेकपा (एस) की मदनकुमारी साहबीच प्रतिस्पर्धा हुने भएको छ। अर्कोतर्फ, संसदीय सुनुवाइ समितिमा भने रास्वपाका वोधनारायण श्रेष्ठको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुनेछन्।
संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे सबै समितिका बैठकहरू आह्वान गरिएको छ। बैठकले एकल उम्मेदवारी परेका ठाउँमा सभापति निर्वाचित भएको घोषणा गर्नेछ भने एकभन्दा बढी उम्मेदवारी परेका समितिमा मतदान प्रक्रियामार्फत नेतृत्वको टुंगो लगाइनेछ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।