लोड हुँदैछ...

मेनु

‘फ्रि हेल्थ पोर्टल’ सुरु : निःशुल्क बेडको रियल–टाइम विवरण सार्वजनिक

‘फ्रि हेल्थ पोर्टल’ सुरु : निःशुल्क बेडको रियल–टाइम विवरण सार्वजनिक

विराटनगर । देशभरका अस्पतालहरूमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि छुट्याइएको १० प्रतिशत निःशुल्क शय्याको अवस्था अब अनलाइनमार्फत सार्वजनिक हुन थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘फ्रि हेल्थ पोर्टल’ सञ्चालनमा ल्याएसँगै कुन अस्पतालमा कति निःशुल्क बेड खाली छन् र ती बेडमा कसले उपचार पाइरहेका छन् भन्ने विवरण रियल टाइममा हेर्न सकिने व्यवस्था गरिएको छ।

यो पोर्टलमा निजी, सामुदायिक तथा सरकारी अस्पतालहरूले आफ्नो कुल शय्याको १० प्रतिशत निःशुल्क बेडको विवरण अद्यावधिक गर्न थालेका छन्। हालसम्म १८ वटा अस्पतालका ४ हजार ९० शय्यामध्ये ४१० शय्या निःशुल्क छुट्याइएको देखिएको छ। तीमध्ये ६ वटा बेडमा बिरामी उपचाररत रहेका छन् भने ४०४ बेड खाली रहेको तथ्यांक पोर्टलमा देखिन्छ।

पोर्टलमा मोरङस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ६ वटा निःशुल्क शय्या प्रयोग भइरहेको विवरणसमेत रियल टाइममा हेर्न सकिन्छ। बालेन्द्र शाहले प्रधानमन्त्री बनेपछि यस व्यवस्थालाई देशव्यापी रूपमा कार्यान्वयन गर्ने पहल गरेका हुन्। सरकारले सार्वजनिक गरेको सय दिने कार्यसूचीमै यो विषय समावेश गरिएको थियो।

यो व्यवस्था नयाँ भने होइन। सरकारले २०७७ सालमै ‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड’ मार्फत कुल शय्याको १० प्रतिशत विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क छुट्याउनुपर्ने कानुनी व्यवस्था गरेको थियो। तर, अधिकांश निजी अस्पतालले यसलाई प्रभावकारी रूपमा कार्यान्वयन नगर्दा निःशुल्क उपचारको भार सरकारी अस्पतालमा मात्रै पर्ने अवस्था थियो।

अब डिजिटल प्रणालीमार्फत अनिवार्य रूपमा विवरण सार्वजनिक गर्नुपर्ने भएपछि कार्यान्वयनमा सुधार आउने अपेक्षा गरिएको छ। मन्त्रालयका अनुसार यो व्यवस्था पूर्ण रूपमा लागू भएमा निजी अस्पतालमै दैनिक करिब ८ हजार विपन्न बिरामीले निःशुल्क उपचार पाउन सक्नेछन्।

यस प्रणालीअन्तर्गत बिरामीको भर्ना मिति, बेड नम्बर, विभाग र रोगको विवरणसमेत समावेश गर्ने योजना रहेको भए पनि हाल सबै अस्पतालले पूर्ण विवरण राख्न थालेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।