विराटनगर । सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गरिएको हो । यो आयोगले सार्वजनिक पद धारण गरेका २०६२र६३ पछिका सबैको सम्पत्ति छानबिन गर्नेछ।
सुरक्षा निकायका पदाधिकारीमाथि अनुसन्धान गर्न समिति गठन
यस्तै सरकारले गत भदौ २३ र २४ गतेको घटनामा सुरक्षा निकायका पदाधिकारीमाथि अनुसन्धान गर्न समिति गठन गरेको छ ।
मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रको हकमा उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
समितिको सदस्यमा सशस्त्र प्रहरी बलका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई रहेका छन्।
२०८२ भदौ २३ र २४ गते घटेको घटना जाँचबुझ गर्न गठित पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन गरिएको हो।
त्यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल र भारतबिच भएको फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता स्वीकार गर्दै सो को सूचना जानकारीका लागि प्रतिनिधि सभामा पेस गर्ने निर्णय समेत गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।