विराटनगर । कोरोना महामारीको समयमा भारतबाट आउने संक्रमितको उपचार र व्यवस्थापनका लागि विराटनगर–१६ रानीमा २८ करोड ९१ लाख रुपैयाँ खर्चेर बनाइएको होल्डिङ सेन्टर अहिले प्रयोगमै नआई जीर्ण बनेको छ ।
नेपाली सेनामार्फत २०७८ सालमै निर्माण सम्पन्न भएका ५९ वटा प्रिफ्याब भवनहरू अहिले संरक्षण र उपयोगको अभावमा मक्किन थालेका छन् । ५ बिघा जग्गामा फैलिएको यो विशाल संरचनामा रहेका बेड, धारा, पानीका ट्यांकी र शौचालयहरू प्रयोग नहुँदै टुटफुट भएका छन् । कतिपय ठाउँमा प्रिफ्याबका भित्ताहरू प्वाल परेका छन् भने प्लास्टिकका सामानहरू घामले डढेर छोयो कि फुट्ने अवस्थामा पुगेका छन् ।
विगतमा अस्पताल सञ्चालन गर्ने चर्चा गरिए पनि सरकारले कुनै ठोस निर्णय लिन नसक्दा राज्यको करोडौँ लगानी ‘बालुवामा पानी’ सरह भएको छ । भोलि विपद् आइलागेर यो सेन्टर सञ्चालन गर्नुपरेमा पनि मर्मतकै लागि पुनः लाखौँ खर्च गर्नुपर्ने अवस्था छ ।










प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।