विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै केन्द्रीकृत मानसिकता त्यागेर सहकार्य र सहअस्तित्वको माध्यमबाट समृद्धि हासिल गर्न लाग्नुपर्ने बताएका छन् ।
नयाँ वर्ष २०८३ को आज शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले संविधान जारी भएको १० वर्ष पुगेपनि केन्द्रीकृत मानसिकताले नछाडेको र यसको चुनौतीका बीच संघीय संरचनालाई बलियो बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले लोकप्रियतावादले प्रदेश सरकारले कोरेका कतिपय राम्रा पाइलाहरू पनि ओझेलमा परेको चर्चा गर्दै प्रदेश संरचनाले छोटो समयमा पनि धेरै काम गरेको उल्लेख गरेका छन् । पूर्वाधार विकाससँगै प्रदेशले लगानी मैत्री वातावरण बनाउन खेलेको भूमिका साथै उद्यमशीलता प्रवर्धनका लागि अगाडि बढाएका कार्यक्रम र पर्यटन प्रवर्द्धनका कार्यक्रमहरुले राष्ट्रिय पुँजीको विकासमा सहयोग पुग्ने विश्वास मुख्यमन्त्री कार्कीले व्यक्त गरेका छन् । सुखी नेपाली समृद्ध नेपालको लक्ष्य हासिल गर्नका लागि प्रदेशले सीमित स्रोत र साधनका बीचमा पनि काम गरिरहेको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
कोशी प्रदेश सरकार देखिने, सुनिने अनुभव गरिने गरी काम गर्न प्रयत्नशील रहेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले नयाँ वर्षले शान्ति उमङ्ग र समृद्धि छाउने विश्वास समेत गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।