लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा २०८२ लाई फर्केर हेर्दा

स्थिर सरकार, नयाँ पहल र विकासको जग बसाउने प्रयत्न

स्थिर सरकार, नयाँ पहल र विकासको जग बसाउने प्रयत्न

विराटनगर । कोशी प्रदेशका लागि वितेको वर्ष २०८२ राजनीतिक स्थिरता, प्रशासनिक सुदृढीकरण र विकासका केही आधारहरू निर्माण गर्ने वर्षका रूपमा रह्यो । सुरुवातिमा वर्षको दुई तीन पटक सरकार परिवर्तन गरेर अस्थिरताको मानक बनाएको कोशी प्रदेशमा पछिल्लो वर्ष सरकारको स्थायित्व रहनु नै सबैभन्दा ठूलो उपलब्धी मान्नुपर्छ ।

नयाँ वर्ष २०८३ को संघारमा उभिएर हेर्दा, २०८२ सालमा कोशी प्रदेश सरकारले मुख्य गरी कानुन निर्माण, आर्थिक क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण काम गर्ने प्रयत्न गर्यो । राजनीतिक रूपमा विगतका वर्षहरूमा देखिएको अस्थिरतालाई चिर्दै यो वर्ष सरकारले आफ्नो नीति तथा कार्यक्रम कार्यान्वयनमा बढी ध्यान केन्द्रित गर्‍यो । विशेषगरी प्रदेश निजामती सेवा ऐन र केही महत्वपूर्ण प्रदेश ऐनहरूको परिमार्जनले प्रदेशको प्रशासनिक संयन्त्रलाई चलायमान बनाउन मद्दत पुर्‍यायो । शासन व्यवस्थालाई पारदर्शी बनाउन ‘डिजिटल कोशी’को अवधारणा अन्तर्गत सरकारी सेवाहरूलाई अनलाइन प्रणालीमा लैजाने निर्णय र कार्यान्वयन २०८२ को एक उपलब्धिमूलक पक्ष रह्यो । सुशासन र पारदर्शी शासन व्यवस्थाको पक्षमा आफूलाई दृढ उभ्याउँदै कोशी प्रदेश आमसञ्चार सम्बन्धी विधेयक पारित गरी कोशी प्रदेशको सरकारी विज्ञापन प्रदेशकै सञ्चार माध्यमलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसले सञ्चार क्षेत्रलाई बलियो बनाउने र लोकतन्त्र सुदृढ गर्ने विश्वास बढाएको छ ।

आर्थिक दृष्टिले २०८२ साल कोशी प्रदेशका लागि आशालाग्दो रह्यो । विराटनगर–इटहरी औद्योगिक करिडोरमा नयाँ लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकारले ‘लगानी सम्मेलन’ सम्पन्न गर्यो । त्यस क्रममा केही स्वदेशी लगानीकर्तासँग सम्झौता समेत गर्‍यो । कृषि क्षेत्रमा अलैँची, चिया र अदुवाको निर्यातलाई व्यवस्थित गर्न चिया प्रशोधन केन्द्र र शीतभण्डार निर्माणका परियोजनाहरू अगाडि बढे ।

पर्यटन क्षेत्रमा २०८२ साललाई कोशी पर्यटन वर्षका रूपमा मनाउने प्रयास गरियो, जसअन्तर्गत भेडेटारको स्काई वाक, इलामको चिया पर्यटन र ताप्लेजुङको पाथीभरा क्षेत्रमा पूर्वाधार विकासका लागि बजेट परिचालन गरियो । मुख्य गरेर चारओटा पदमार्गहरुको विकासमा सरकारले ध्यान केन्द्रित गरेर पूर्वाधारमा लगानी गरिरहेको छ ।

यद्यपि, वर्ष २०८२ को सुरुवातमै भएको ‘जेनजी’ युवा पुस्ताको आन्दोलनले प्रदेशको सामाजिक र भौतिक संरचनामा गम्भीर नोक्सानी पुग्यो । बेरोजगारी, शैक्षिक अन्योल र सुशासनको माग गर्दै सडकमा उत्रिएका युवाहरूको आन्दोलनले कतिपय ठाउँमा उग्र रूप लिँदा सार्वजनिक सम्पत्तिमा क्षति पुग्यो । सरकारी कार्यालय र यातायातका साधनमा तोडफोड हुँदा करोडौँको भौतिक क्षति व्यहोर्नुपर्‍यो । सरकारी सम्पत्ति र संरचनाहरु ध्वस्त पारिए । निजी क्षेत्रबाट सञ्चालित व्यवसायिक प्रतिष्ठानहरुले पनि आक्रमण र आगजनीबाट क्षति व्यहोरे । झण्डै झण्डै प्रदेश सरकार शुन्यको अवस्थामा पुग्यो र विस्तारै आफूलाई पुनर्संगठित गर्दै सरकार अगाडि बढ्यो । जसले यस प्रदेशको विकास र सुशासन व्यवस्थापनमा गम्भीर चुनौतीहरू खडा गर्‍यो । यस आन्दोलनले नीति निर्माताहरूलाई युवा लक्षित रोजगारी र सीप विकासका कार्यक्रम ल्याउन दबाब सृजना गर्‍यो ।

समग्रमा, २०८२ साल कोशी प्रदेशका लागि केही उतारचढावका बीच विकासका आधारस्तम्भ खडा गर्ने वर्ष रह्यो । पहिचानको मुद्दामा देखिएका असन्तुष्टिहरूलाई संवादमार्फत हल गर्ने प्रयास हुनु र भौतिक पूर्वाधारका ठूला आयोजना विशेषगरी किमाथाङ्का–जोगवनी सडक खण्ड मा प्रगति हुनुले प्रदेशको भविष्य उज्ज्वल देखाएको छ ।

शासन व्यवस्थामा विधिको शासन स्थापित गर्ने र युवा पुस्ताको आक्रोशलाई सम्बोधन गर्दै अघि बढ्नु नै आगामी वर्ष २०८३ को मुख्य कार्यभार हुने देखिन्छ । २०८२ ले सिकाएको पाठ र हासिल गरेका उपलब्धिहरू नै अबको समृद्ध कोशी निर्माणका मुख्य जग हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।