लोड हुँदैछ...

मेनु

इटहरीमा आजदेखि ‘रेडबुल इटहरी गोल्डकप’ सुरु हुँदै

इटहरीमा आजदेखि ‘रेडबुल इटहरी गोल्डकप’ सुरु हुँदै

विराटनगर । सुनसरीको इटहरी रंगशालामा १६औँ अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप आज सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिता वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ।

उद्घाटन खेल आज बेलुका ६ः३० बजे जस्ट जोन फुटबल क्लब, नाइजेरिया र युवा समाज मोरङ बीच हुनेछ।

रात्रिकालीन रूपमा सुरु हुने पहिलो खेलले नै दर्शकमा उत्साह थप्ने अपेक्षा गरिएको छ। यस वर्ष प्रतियोगिता आकर्षक पुरस्कारका कारण विशेष चर्चामा छ। विजेताले १० लाख रुपैयाँ नगदसहित ६० तोला चाँदी र ६ आना सुनले लेपन गरिएको ट्रफी पाउनेछन् भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ, प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २० हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ पुरस्कार राखिएको छ।

राष्ट्रिय जागृति क्लब को आयोजनामा हुने प्रतियोगितामा नेपाल र विदेशका गरी ८ टोली सहभागी छन्। सहभागी टोलीमा मच्छिन्द्र एफसी, प्लानिङ ब्वाइज, झापा–११, सातदोबाटो एफसी, युवा समाज मोरङ, आयोजक टिम, यूकेएफसी भारत र जस्ट जोन फुटबल क्लब नाइजेरिया रहेका छन्।

प्रतियोगिताअन्तर्गत आगामी वैशाख १ गते मच्छिन्द्र क्लब काठमाडौं र झापा–११ फूटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, वैशाख २ गते राष्ट्रिय जागृति क्लब, इटहरी र सातदोबाटो युथ क्लब, ललितपुरबीच खेल हुनेछ । वैशाख ३ गते प्लानिङ ब्वाइज, काठमाडौं र भारतको युनाइटेड खर्साङ एफसीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

पहिलो चरणका विजेता टोलीहरूबीच वैशाख ४ र ५ गते सेमिफाइनल खेल सञ्चालन गरिनेछ भने प्रतियोगिताको फाइनल खेल वैशाख ७ गते हुनेछ । गत वर्ष प्रतियोगिताको उपाधि मच्छिन्द्र क्लब, काठमाडौंले जितेको थियो भने चर्च ब्वाइज युनाइटेड क्लब उपविजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।