लोड हुँदैछ...

मेनु

रात्रिकालीन फुटबलको रौनक

रात्रिकालीन फुटबलको रौनक

विराटनगर । विराटनगर–७ हस्पिटल चोकमा औषधि पसल चलाउने धनराज काफ्लेको दैनिकी शनिबार साँझ ६ बजेपछि फेरियो । दिनभर बिरामी र औषधिको प्रेस्क्रिप्सनमा अल्झिएका उनले जब पसलको सटर झारे, उनको गन्तव्य घरतिर होइन, सहिद रङ्गशालातिर मोडियो । उनीसँगै थिए, डा. कुशल गुरुङ ।

दिनभरिको व्यावसायिक चटारो र बिरामीको चापबाट मुक्त भएपछि यो जोडी विराटनगरको ऐतिहासिक ३८ औँ विराट गोल्डकपको रात्रिकालीन रौनक भर्न मैदान पुगेको हो । ‘दिनभर कामले फुर्सद हुन्न, आफ्नै व्यवसायमा व्यस्त भइन्छ,’ रङ्गशालाको प्यारापिटमा भेटिएका काफ्लेले भने, ‘साँझमा खेल हुने भएपछि हामीजस्ता कामकाजीलाई सजिलो भएको छ । दिनभरिको थकान मेट्न फुटबल हेर्न आइपुग्यौँ ।’

विराटनगरको उकुसमुकुस गर्मी र कार्यव्यस्ततालाई बिर्साउने माध्यम बनेको छ— रात्रिकालीन फुटबल । शनिबार राति जब फ्लडलाइटको उज्यालोमा झापा–११ र त्रिभुवन आर्मीबीचको उद्घाटन खेल सुरु भयो, सयौैँ दर्शकको हुटिङले रङ्गशाला गुञ्जियो । झापाले आर्मीलाई २–१ ले स्तब्ध बनाउँदाको क्षण काफ्ले र गुरुङका लागि मात्र होइन, रंगशाला पुगेका सयौँ विराटनगरबासीका लागि एउटा उत्सव थियो । ‘हिजोको खेल निकै रोमाञ्चक रह्यो, आज पनि चाँडै काम सकेर आउने योजना छ,’ काफ्लेले आइतबारको चर्च ब्वाइज र एपीएफबीचको खेललाई लक्षित गर्दै थपे ।

विराटनगरमा रात्रिकालीन फुटबलको यो जग २०७४ सालमा बसालिएको हो । त्यतिबेला गोल्डकपको संयोजक रहेका उद्योगी नवीन रिजालले मोफसलमै पहिलोपटक अस्थायी फ्लडलाइट जडान गरेर नयाँ प्रयोग गरेका थिए । ‘२०७४ सालमा केही नयाँ गर्ने सोच थियो, त्यतिबेला सहिद मैदान अगाडि भाइ अमित राठीसँगको सल्लाहमा डे–नाइट फुटबलको योजना बन्यो,’ रिजाल सम्झन्छन्, ‘विराटनगर गर्मी ठाउँ हो, दिउँसोभन्दा साँझ शीतलमा दर्शक र खेलाडी दुवैलाई सहज हुन्छ । मेरो पालाबाट सुरु भएको यो परम्पराले अहिले पनि निरन्तरता पाएको देख्दा खुसी लाग्छ ।’

प्राविधिक र व्यावसायिक हिसाबले पनि रात्रिकालीन खेल फलदायी देखिएको छ । पूर्व फिफा रेफ्री किरण गिरीका अनुसार दिउँसोको चर्को घाममा खेलाडीहरूको स्टामिना चाँडै घट्ने गर्छ । ‘साँझमा खेल्दा खेलाडीले आफ्नो शतप्रतिशत दिन सक्छन्,’ गिरी भन्छन्, ‘दर्शकका लागि पनि साँझको समय मनोरञ्जनको उपयुक्त बेला हो ।’

मैदानमा पसिना बगाउने खेलाडी पनि नाइट गेमलाई नै रुचाउँछन् । राष्ट्रिय खेलाडी एवं सम्राट स्पोर्टिङ क्लबका कप्तान अशोक खवास भन्छन्, ‘दिउँसोको गर्मीमा खेल्नु निकै चुनौतीपूर्ण हुन्छ । नाइट गेम नौलो पनि छ र दर्शकको चाप बढी हुँदा खेल्ने जोस पनि छुट्टै हुन्छ ।’

ऐतिहासिक विरासत र नयाँ चुनौती
वि.सं. २०१८ मा ‘महेन्द्र गोल्डकप’ बाट सुरु भएको यो यात्रा २०६८ देखि ‘विराट गोल्डकप’ का रूपमा चिनिन थाल्यो । बीचमा केही वर्ष आर्थिक घाटा र व्यवस्थापकीय खिचातानीका कारण प्रतियोगिता सुस्ताए पनि अहिले पुनः लयमा फर्किएको छ । वि.सं. २०७१ र ७२ मा उद्योगी राजेन्द्र राउतको नेतृत्वमा आर्थिक रूपमा सफल भएको यो प्रतियोगिताले २०७९ मा महानगरले आयोजना गर्दा ठुलो घाटासमेत बेहोरेको थियो ।

यसपटक ट्रस्ट आफैँले करिब १ करोड ५ लाख रुपैयाँको बजेटमा प्रतियोगिता अघि बढाएको छ । वैशाख ५ गतेसम्म चल्ने यस गोल्डकपको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । ‘‘विगतका कमीकमजोरी सुधार्दै यसपटक विराटनगरको ऐतिहासिक गरिमा जोगाउने प्रयासमा छौँ,’’ ट्रस्टका अध्यक्ष किशोरबहादुर शाही भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।