विराटनगर । विराटनगरको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ को ३८ औँ संस्करण आजदेखि सुरु भएको छ । विराटनगरस्थित शहीद रङ्गशालामा शनिबार साँझ ७ बजेदेखि फ्लडलाइटको माध्यमबाट रात्रिकालीन फुटबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । यी दुई टोली ११ वर्षपछि पुनः यही मैदानमा आमनेसामने भएका हुन् । यसअघि २०७१ सालको फाइनल भिडन्तमा झापा–११ ले आर्मीलाई पराजित गर्दै उपाधि हात पारेको थियो । लामो समयपछिको यो भेटलाई फुटबल प्रेमीहरूले निकै चासोका साथ हेरेका छन् ।
वि।सं। २०१८ मा ‘महेन्द्र गोल्डकप’ को नामबाट सुरु भएको यो प्रतियोगिता देशकै पुराना फुटबल प्रतियोगितामध्ये एक मानिन्छ । २०५७ देखि यसलाई ‘विराट गोल्डकप’ का नामबाट सञ्चालन गरिँदै आइएको छ । यसले विराटनगरको दशकौँ लामो फुटबल विरासतलाई जोगाइराखेको छ ।
यसपटक प्रतियोगितालाई थप समावेशी र स्थानीयकरण गर्न मोरङ जिल्ला लिग विजेता ‘सम्राट स्पोर्टिङ क्लब’ लाई पनि अवसर दिइएको छ, जुन यस संस्करणको मुख्य आकर्षण मानिएको छ ।
प्रतियोगितामा नेपालका प्रतिष्ठित ‘ए’ डिभिजन क्लबहरू चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, तीन विभागीय टोलीहरू आर्मी, पुलिस र एपीएफ० का साथै भारतको अल झारखण्ड विरसा मुन्डा फुटबल एकेडेमीको पनि सहभागिता रहनेछ ।
वैशाख ५ गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए । त्यस्तै, उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, गोलकर्ता र खेलाडीलाई जनही १५–१५ हजार रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
करिब १ करोड ५ लाख रुपैयाँ बजेट अनुमान गरिएको यस गोल्डकपले विराटनगरमा फुटबलको माहोल पुनः तताउने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।