लोड हुँदैछ...

मेनु

विराटनगरमा आजदेखि ३८ औं विराट गोल्डकपको रौनक: उद्घाटन खेलमा झापा–११ र आर्मी भिड्दै

विराटनगरमा आजदेखि ३८ औं विराट गोल्डकपको रौनक: उद्घाटन खेलमा झापा–११ र आर्मी भिड्दै

विराटनगर ।  ‘विराट गोल्डकप’ प्रतियोगिताको ३८ औं संस्करण आजदेखि विराटनगरमा सुरु हुँदैछ। विराटनगरस्थित सहिद रंगशालामा साँझ ६ बजे हुने उद्घाटन खेलमा झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ।

आजको खेलमा झापा र आर्मी ११ वर्षपछि पुनः यही मैदानमा आमनेसामने हुन लागेका हुन्। यसअघि २०७१ सालको फाइनल भिडन्तमा झापा–११ ले आर्मीलाई पराजित गर्दै उपाधि हात पारेको थियो। लामो समयपछिको यो भेटलाई फुटबल प्रेमीहरूले निकै चासोका साथ हेरेका छन्।

वि.सं. २०१८ मा ‘महेन्द्र गोल्डकप’ को नामबाट सुरु भएको यो प्रतियोगिता देशकै पुराना फुटबल प्रतियोगितामध्ये एक मानिन्छ। यसपटक प्रतियोगितालाई थप समावेशी बनाउन मोरङ जिल्ला लिग विजेता सम्राट स्पोर्टिङ क्लबलाई पनि अवसर दिइएको छ, जुन यस संस्करणको मुख्य आकर्षण हो।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरू चर्च ब्वाईज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, तीन विभागीय टोली (आर्मी, पुलिस र एपीएफ) सँगै भारतको अल झारखण्ड विरसा मुन्डा फुटबल एकेडेमीको पनि सहभागिता रहनेछ।

बैशाख ५ गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। फ्लड लाइटमा सञ्चालन हुने खेलका लागि मैदान, ब्यानर र टिकट व्यवस्थापन लगायतका सम्पूर्ण तयारी पूरा भइसकेको ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए। करिब १ करोड ५ लाख रुपैयाँ बजेट अनुमान गरिएको यस गोल्डकपले विराटनगरमा फुटबलको माहोल पुनः तताउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।