लोड हुँदैछ...

मेनु

कोशी प्रदेश आमसञ्चार सम्बन्धी विधेयक संशोधनपछि निर्णयार्थ पेश गरिँदै

कोशी प्रदेश आमसञ्चार सम्बन्धी विधेयक संशोधनपछि निर्णयार्थ पेश गरिँदै

विराटनगर । कोशी प्रदेश सभाको सोमबार बस्ने बैठकबाट ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित हुने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार चैत २३ गते दिउँसो १ बजे बस्ने १५औँ बैठकमा उक्त विधेयक निर्णयार्थ पेश गर्ने अन्तिम तयारी गरिएको हो ।

बैठकमा न्याय प्रशासन तथा विधायन समितिका सभापति माननीय कमला दर्नालले विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची रहेको छ । त्यसलगत्तै आन्तरिक मामिला तथा कानून मन्त्री माननीय इन्द्रमणी पराजुलीले उक्त प्रतिवेदन सहितको विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् । छलफलको प्रक्रिया सकिएपछि मन्त्री पराजुलीले नै सो विधेयक पारित गरियोस् भनी सभामा प्रस्ताव प्रस्तुत गर्ने प्रदेश सभा सचिव सुदर्शन खड्काले जानकारी दिएका छन् ।

प्रदेश सरकारले उक्त विधेयक गत वर्षको चैत महिनामै प्रदेश सभामा दर्ता गराएको थियो । यसअघि गत भदौ महिनामै यसलाई पारित गर्ने अन्तिम तयारी गरिए पनि विधेयकका कतिपय प्रावधानमा सरोकारवालाहरूले गम्भीर असहमति जनाएपछि यो प्रक्रिया रोकिएको थियो । विशेषगरी विधेयकको प्रारम्भिक मस्यौदामा पत्रकारहरूलाई कडा दण्ड र जरिवाना गर्ने, सूचना सम्प्रेषण र प्रशारणमा रोक लगाउन सक्ने तथा आमसञ्चार प्रतिष्ठानलाई निरंकुश अधिकार दिने जस्ता प्रावधानहरू समावेश गरिएका थिए ।

प्रेस स्वतन्त्रतालाई संकुचित बनाउने यस्ता प्रावधानले पत्रकारिता जगतमा तरङ्ग उत्पन्न गरेपछि नेपाल पत्रकार महासङ्घ लगायतका संघसंस्थाहरूले कडा विरोध गर्दै आन्दोलन नै गर्नुपरेको थियो । व्यापक विरोध र चौतर्फी दबाबपछि अहिले ती विवादास्पद बुँदाहरूलाई परिमार्जन गरी प्रेस मैत्री बनाइएको दाबी गरिएको छ । पत्रकारहरूको चासो र विरोधलाई सम्बोधन गर्दै संशोधित स्वरूपमा यो विधेयक आज पारित गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।