विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आठौं प्रदेश सभा विराटनगरमा सुरु भएको छ । महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेको उक्त सभामा कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेशको समग्र आर्थिक अवस्था, निजी क्षेत्रले झेल्नुपरेका चुनौती र आगामी कार्यदिशा समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । स्वागत मन्तव्यका क्रममा अध्यक्ष राउतले नेपाली अर्थतन्त्रको वर्तमान स्वरूप र निजी क्षेत्रको मनोबल खस्कँदै गएको प्रति गम्भीर चिन्ता व्यक्त गरे ।
अध्यक्ष राउतले नेपाली अर्थतन्त्रमा देखिएको अत्यधिक विपे्रषण (रेमिट्यान्स) निर्भरतालाई मुख्य समस्याका रूपमा औंल्याए । “कुल गार्हस्थ उत्पादनको करिब २५ प्रतिशत अनुपात रेमिट्यान्समा निर्भर हुनु हाम्रो अर्थतन्त्रका लागि ठुलो चुनौती हो,” राउतले भने, “विद्यमान अन्तर्राष्ट्रिय परिस्थिति र युद्धका कारण पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्य बढाउँदा सर्वसाधारणदेखि उद्योग व्यवसायसम्मलाई प्रत्यक्ष मार परेको छ ।” उनले आन्तरिक उत्पादन बढाउन नसक्दा अर्थतन्त्र संकुचित हुने जोखिम औंल्याउँदै अबका दिनमा तीनै तहका सरकारले निजी क्षेत्रसँग मिलेर स्वदेशमै उत्पादनमूलक उद्योग विस्तारमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
विशेष गरी कृषि प्रशोधन, निर्माण, ऊर्जा र निर्यातमुखी उद्योग स्थापनाका लागि सरकार र निजी क्षेत्रबीच दीर्घकालीन योजना आवश्यक रहेको महासंघको ठहर छ । अध्यक्ष राउतले हरेक राजनीतिक वा सामाजिक आन्दोलनको मार निजी क्षेत्रले खेप्नुपरेको तितो यथार्थ स्मरण गर्दै हालैको ‘जेनजी’ आन्दोलन निजी क्षेत्रका लागि निकै पीडादायी र चुनौतीपूर्ण रहेको बताए । व्यवसायीलाई नै समस्याको जडका रूपमा चित्रण गर्ने प्रवृत्तिले निजी क्षेत्र हतोत्साही बनेको उनको भनाइ थियो । “यदि निजी क्षेत्र निरुत्साहित भयो भने लगानी घट्छ, उद्योगहरू बन्द हुन थाल्छन्, रोजगारीका अवसर गुम्छन् र अन्ततः युवाहरू विदेशिन बाध्य भई देशको अर्थतन्त्र थप कमजोर बन्छ,” राउतले चेतावनीयुक्त भाषामा भने ।
निजी क्षेत्रमाथि हुने भौतिक र मानसिक आक्रमणको असर गहिरो हुने भन्दै उनले व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरे । तथापि, हालै नियुक्त अर्थमन्त्रीले लिनुभएको नीतिगत सुधारका प्रयास, निजी क्षेत्रमैत्री दृष्टिकोण र सरकारले अघि सारेको ‘१०० बुँदे’ कार्ययोजनाले केही आशा जगाएको उनले उल्लेख गरे । नयाँ सरकारको गठनसँगै राजनीतिक स्थिरता कायम हुने र लगानीमैत्री वातावरण बन्नेमा महासंघ विश्वस्त देखिएको छ । “हामीले राज्यका निकायप्रति नागरिकको विश्वास र नियामक निकायको विश्वसनीयता कायम गर्न सरकारलाई निरन्तर दबाब र सहयोग गरिरहनुपर्छ,” उनले भने ।
महासंघले आगामी दिनमा नवप्रवर्तन, स्टार्टअप इकोसिस्टम, डिजिटल इकोनोमी र हरित लगानी जस्ता क्षेत्रमा सरकारसँग सहकार्य गर्ने लक्ष्य राखेको छ । अध्यक्ष राउतले आफ्नो तीन वर्षे कार्यकालमा भएका उपलब्धिहरूको चर्चा गर्दै निजी क्षेत्रको आवाजलाई नीतिगत तहसम्म पु¥याउन महासंघले सशक्त भूमिका खेलेको दाबी गरे । सभामा कोशी प्रदेशका विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, सरकारी अधिकारी र उद्यमीहरूको ठुलो उपस्थिति रहेको थियो । महासंघले कोशी प्रदेशलाई आर्थिक रूपमा सबल, आत्मनिर्भर र समृद्ध बनाउने दिशामा सबै पक्षको सामूहिक प्रतिबद्धता आवश्यक रहेको जनाएको छ ।
आठौं प्रदेश सभाबाट महासंघको नयाँ नेतृत्वसमेत चयन गर्दैछ । कोशी प्रदेशको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष राजेन्द्र राउत र उद्योगी नवीन रिजालबीच प्रतिस्पर्धा हुने देखिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।