लोड हुँदैछ...

मेनु

‘कोशी अस्पताललाई आँखा उपचारको विशेषज्ञ केन्द्र बनाउँदैछौँ’

‘कोशी अस्पताललाई आँखा उपचारको विशेषज्ञ केन्द्र बनाउँदैछौँ’

विराटनगरस्थित कोशी अस्पतालको आँखा विभागमा सेवाग्राहीको चाप बढ्दै गएको छ। अस्पतालले आँखाका बिरामीहरूका लागि आधुनिक प्रविधि र थप सुविधाहरू विस्तार गरिरहेको छ। यसै सन्दर्भमा कोशी अस्पतालको आँखा विभागका प्रमुख डा. शक्ति प्रसाद सुवेदीसँग हाम्रोमतले गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ:

कोशी अस्पतालको आँखा विभागले हाल कस्ता सेवाहरू प्रदान गरिरहेको छ ?

 हाल हामीले मुख्यतया ओपीडी (OPD) सेवाहरू प्रदान गरिरहेका छौं। यसका साथै चस्मा जाँच सेवा, आँखासम्बन्धी विभिन्न रोगहरू पत्ता लगाउन ‘बी-स्क्यान’ (B-Scan), भिजुअल फिल्ड (Visual Field) र आँखाको चाप नाप्ने (Intraocular Pressure) जस्ता डायग्नोस्टिक सेवाहरू पनि उपलब्ध छन्। शल्यक्रियातर्फ मोतिविन्दुको नियमित शल्यक्रिया लगायतका अन्य शल्यक्रिया सेवाहरू पनि हामीले दिइरहेका छौं।

अहिले दैनिक कति बिरामीहरू आँखा विभागमा आउने गरेका छन् ?

अहिले औसतमा दैनिक करिब ४० जना बिरामीहरूले ओपीडी सेवा लिइरहनुभएको छ। यो संख्या बिस्तारै बढ्दो क्रममा छ।

अस्पतालभित्रै चस्मा पसल संचालन गर्ने तयारीको बारेमा केही बताइदिनुहोस् न ?

हामीले विभागमा आउने बिरामीहरूको प्रोफाइल अध्ययन गर्दा धेरैलाई चस्माको आवश्यकता पर्ने देख्यौं। विशेष गरी स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई अस्पतालमा चस्मा पसल नहुँदा बाहिर रिफर गर्नुपर्ने अवस्था थियो। यसैलाई मध्यनजर गर्दै आउँदो वैशाखदेखि अस्पतालभित्रै चस्मा पसल संचालन गर्ने तयारी गरेका छौं। यसका लागि आवश्यक फ्रेम र सिसाहरू प्राप्त भइसकेका छन्। चैत मसान्तसम्ममा जनशक्ति व्यवस्थापन गरेर वैशाखदेखि यो सेवा सुरु हुनेछ।

के बिरामीले स्वास्थ्य बीमाबाटै चस्मा प्राप्त गर्न सक्छन् ?

स्वास्थ्य बीमा भएका बिरामीहरूले बीमा अन्तर्गत एक हजार रुपैयाँ बराबरको चस्मा प्राप्त गर्न सक्नुहुन्छ। बीमा नभएकाहरूले पनि सहुलियत दरमा यहाँबाट चस्मा खरिद गर्न सक्नुहुनेछ। यसले सेवाग्राहीलाई निकै सहज हुने हाम्रो विश्वास छ।

आँखा विभागमा जनशक्तिको अवस्था कस्तो छ ? थप जनशक्ति आवश्यक छ कि ?

 चिकित्सकको हकमा हामीसँग पर्याप्त जनशक्ति छ। तर, प्यारामेडिकल र प्राविधिक कर्मचारीहरूको केही अभाव छ। चस्मा जाँच गर्ने जनशक्ति, अप्टोमेट्रिस्ट, ओए (OA), अप्टिकल फिटर र शल्यक्रिया कक्षका लागि तालिमप्राप्त नर्सहरूको खाँचो छ। यस विषयमा हामीले अस्पताल प्रशासन र मन्त्रालयसँग समन्वय गरिरहेका छौं।

आगामी दिनमा सेवा विस्तारका योजनाहरू के-के छन् ?

सरकारको रणनीति अनुसार हामी विशेषज्ञ स्वास्थ्य सेवा प्रवाहमा केन्द्रित छौं। सुगर र प्रेसरका कारण आँखामा देखिने समस्याहरूको उपचारलाई विस्तार गर्ने हाम्रो योजना छ। साथै, अति विशिष्ट सेवाहरूका लागि विराटनगर आँखा अस्पतालसँग समन्वय गरेर कोर्निया, रेटिना र नवजात शिशुहरूको आँखाको समस्या (ROP) सम्बन्धी उपचारमा सहकार्य गरिरहेका छौं। कोशी अस्पताललाई आँखा उपचारको भरपर्दो केन्द्र बनाउने हाम्रो लक्ष्य छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds