लोड हुँदैछ...

मेनु

विराटनगर यातायात कार्यालयबाट सरकारी छाप र दस्तखत किर्ते गरी ठगी गर्ने एक जना पक्राउ

विराटनगर यातायात कार्यालयबाट सरकारी छाप र दस्तखत किर्ते गरी ठगी गर्ने एक जना पक्राउ

विराटनगर । सरकारी छाप र सरकारी कर्मचारीको दस्तखत किर्ते गरी ठगी गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. ६ बस्ने ३७ वर्षीय कमल कुमार स्वर्णकार रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार यातायात कार्यालय परिसरभित्र लेखापढीको काम गर्ने स्वर्णकारले को ३१ प ५५७९ नम्बरको मोटरसाइकलको बिलबुक नवीकरण गरिदिने भन्दै सरकारी छाप र दस्तखत किर्ते गरी ठगी गरेको पाइएको छ ।

उनले अन्य मानिसहरूले राजस्व तिर्न दिएका विभिन्न सवारी साधनका दर्ता किताब (बिलबुक) समेत लिई सरकारी छाप र छैटौं तहको अधिकृतको किर्ते दस्तखत गर्ने गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई यातायात कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो । प्रहरीले स्वर्णकारको घरमा खानतलासी गर्दा विभिन्न ११ थान सवारी दर्ता किताबहरू समेत फेला पारेको छ ।

पक्राउ परेका उनीमाथि मोरङ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । यसैबीच, प्रहरीले स्वर्णकारलाई सवारी दर्ता किताब नवीकरणका लागि दिएका कोही व्यक्ति भएमा ५ दिनभित्र जिल्ला प्रहरी कार्यालय मोरङको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।