लोड हुँदैछ...

मेनु

‘विराट गोल्डकप’ चैत २८ बाट, उद्घाटनमा झापा र आर्मी भिड्ने

‘विराट गोल्डकप’ चैत २८ बाट, उद्घाटनमा झापा र आर्मी भिड्ने

विराटनगर । विराटनगरमा आगामी चैत २८ गतेदेखि प्रतिष्ठित ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको ३८औँ संस्करण सुरु हुने भएको छ। वैशाख ५ गतेसम्म चल्ने यस प्रतियोगितामा भारतको अल झारखण्ड विर्सा मुन्डा एकेडेमीसहित आठ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।

आयोजक विराट गोल्डकप ट्रस्टका प्रवक्ता धनकुमार लामाका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा पूर्वविजेता झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ एफसी र सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता तथा साविक उपविजेता चर्च ब्वाइज युनाइटेड भिड्नेछन्।

तेस्रो खेलमा नेपाल पुलिस क्लबले २०८० सालको विजेता मच्छिन्द्र फुटबल क्लबको सामना गर्नेछ भने नयाँ वर्षको पहिलो दिन वैशाख १ गते मोरङको विजेता टोली सम्राट स्पोर्टिङ क्लबले भारतको झारखण्डको सामना गर्ने तालिका रहेको छ। यसपटक साविक विजेता थ्री स्टार क्लब भने प्रतियोगितामा सहभागी हुने छैन।

विराटनगरस्थित सहिद मैदानमा दिवा– रात्री डे नाइट रूपमा सञ्चालन हुने यस प्रतियोगिताको विजेताले ट्रफीसहित ११ लाख रुपैयाँ हात पार्नेछ। नोवेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको यस गोल्डकपलाई कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद्ले प्रवर्द्धन गरेका छन्।

२०१८ सालमा ुमहेन्द्र गोल्डकपुका नामबाट सुरु भएको यो प्रतियोगिता २०६७÷६८ सालदेखि ‘विराट गोल्डकप’ मा रूपान्तरण भएको हो। ट्रस्टले यस वर्षदेखि प्रतियोगितालाई पुरानै निरन्तरताका रूपमा गणना गर्दै ३८औँ संस्करणका रूपमा अघि बढाउने निर्णय गरेको छ। अघिल्लो संस्करणमा चर्च ब्वाइजलाई २–० ले हराउँदै थ्री स्टारले उपाधि जितेको थियो। अहिले प्रतियोगिताका लागि मैदान तयारीको काम तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।