लोड हुँदैछ...

मेनु

संखुवासभा जिल्ला अस्पतालमा निःशुल्क डायलाइसिस सेवा

संखुवासभा जिल्ला अस्पतालमा निःशुल्क डायलाइसिस सेवा

संखुवासभा । संखुवासभा जिल्ला अस्पतालमा पहिलोपटक डायलाइसिस सेवा सुरु गरिएको छ। मिर्गौला रोगीहरूका लागि निःशुल्क रूपमा सेवा सञ्चालनमा ल्याइएको हो।

अस्पतालका अध्यक्ष सुमन शाक्यका अनुसार ५ शैय्याबाट डायलाइसिस सेवा सुरु गरिएको हो । त्यसले जिल्लाका बिरामीलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

पहिलोपटक खाँदबारी नगरपालिका–९ ढुङ्गेधाराकी ४८ वर्षीया सशुकुमारी श्रेष्ठलाई डायलाइसिस सेवा प्रदान गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सन्तोष देवले जानकारी दिए। उनी यसअघि नोवेल अस्पताल विराटनगर गएर डायलाइसिस गराउँदै आएकी थिइन्।

यसअघि जिल्लामा डायलाइसिस सेवा नहुँदा मिर्गौला रोगीहरूलाई विराटनगर, धरान र काठमाडौँ सम्म धाउनुपर्ने बाध्यता थियो। अब भने बिरामीहरूले आफ्नै जिल्लामै उपचार सेवा पाउने भएका छन्।

अस्पताल प्रशासनका अनुसार सेवा सञ्चालनका लागि आवश्यक उपकरण र प्राविधिक जनशक्ति व्यवस्थापन गरिएको छ। डायलाइसिसका लागि ३ जना तालिमप्राप्त चिकित्सक, ४ जना तालिमप्राप्त नर्स र १ जना टेक्निसियन खटाइएको छ।

सेवा सञ्चालनका लागि खाँदबारी नगरपालिकाले ५ लाख रुपैयाँ र चिचिला गाउँपालिकाले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।