खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले निर्माणाधीन नगर अस्पताल अलपत्र पार्ने निर्माण कम्पनीको गाडी नियन्त्रणमा लिएको छ।
नगरपालिकाले काम नगरी ठेक्का अलपत्र पारेको भन्दै नमुना हिमालयन जेभी सँग सम्बद्ध रमेश बस्नेत चढेको बागमती प्रदेश १६ च ६८०२ नम्बरको सुजुकी कार आइतबार नियन्त्रणमा लिएको हो।
नगरप्रमुख विमला राईका अनुसार कानुनी आधारमा पटक–पटक ताकेता गर्दा पनि कम्पनीले अटेर गरेपछि बोलाएरै गाडी नियन्त्रणमा लिइएको हो। गाडी नियन्त्रणमा लिएपछि सोही दिन जिल्ला प्रशासन कार्यालय खोटाङलाई लिखित जानकारीसमेत गराइएको छ।
नगरपालिकाले कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी दिँदै काम गर्नेबारे लिखित प्रतिबद्धता गराएको जनाएको छ। प्रतिबद्धताअनुसार चैत १२ गतेदेखि काम सुरु गर्ने, ४५ दिनभित्र केसमेन्ट कभर स्ल्याब ढलान गर्ने, ६० दिनभित्र पहिलो तलाको स्ल्याब सक्ने र त्यसपछिको ६० दिनभित्र दोस्रो तलाको स्ल्याब सम्पन्न गर्ने उल्लेख गरिएको छ। प्रगति देखिएपछि मात्रै गाडी फिर्ता दिने सहमति भएको नगरपालिकाले जनाएको छ।
अस्पताल भवन निर्माणका लागि २०७८ साउन ७ गते सम्झौता गरिएको थियो भने २०८० साउन ७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य थियो। संघीय सरकारको करिब ११ करोड ९९ लाख रुपैयाँ बजेटमा निर्माण सुरु गरिएको अस्पतालको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।
अस्पतालको समयमै काम सम्पन्न नभएपछि म्याद पटक–पटक थपिँदै आएको छ। पछिल्लो पटक २०८३ साउन ७ गतेसम्मका लागि म्याद थपिएको छ। हालसम्म भवनको बेस पिलर मात्र निर्माण भएको छ।
नगरपालिकाका अनुसार अहिलेसम्म करिब ३४ प्रतिशत काम बराबर ४ करोड रुपैयाँ भुक्तानी गरिएको छ। त्यसपछि काम अलपत्र परेपछि थप भुक्तानी रोकिएको छ।
नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार निर्माण कम्पनीले कामदारलाई पारिश्रमिक नदिएपछि कामदारहरूले काम छाडेका कारण परियोजना रोकिएको थियो। लिखित प्रतिबद्धतापछि भने काम पुनः सुरु भएको जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।