विराटनगर । स्थानीय तहको निर्वाचन सकिए लगत्तै नेपाली उपभोक्ताको भान्छा निकै महँगो हुन थालेको छ । लामो समयदेखि स्थिर जस्तै देखिएको खानेतेलको मूल्य पछिल्लो दुई हप्तामा प्रतिलिटर ५० रुपैयाँसम्मले बढेपछि भान्छा महंगिएको हो ।
उद्योगीहरूले चुनावअघि नै तेलको मूल्य लिटरमा ३० रुपैयाँले बढाउने तयारी गरेको भएपनि मूल्य वृद्धिले निर्वाचनमा नकारात्मक असर पर्ने भन्दै स्थगित गरेका थिए । उनीहरुले निर्वाचन लगतै तेलको मूल्य प्रतिलिटर ३० रुपियाँले बढाए । पहिलो मूल्य वृद्धि गरेको एक साताभित्रै उनीहरुले फेरि प्रतिलिटर २० रुपियाँका दरले मूल्य वृद्धि गरेपछि दुई हप्तामा तेलको मूल्य प्रतिलिटर ५० रुपियाँले बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको अभाव, अमेरिकी डलरको बढ्दो विनिमय दर र पश्चिम एसियामा जारी युद्धका कारण ढुवानी खर्चमा भएको वृद्धिले गर्दा मूल्य बढाउनु परेको दाबी उद्योगीहरुले गरिरहेका छन् ।
नेपालमा भटमास र सूर्यमुखीको कच्चा तेल अर्जेन्टिना, ब्राजिल, युक्रेन र पाराग्वे जस्ता मुलुकबाट आउने गर्दछ । रुस–युक्रेन युद्धका कारण ती देशबाट हुने आपूर्तिमा अवरोध सिर्जना भएको छ । उद्योगीहरूका अनुसार अहिले अन्तर्राष्ट्रिय सप्लायरहरूले नयाँ अर्डर लिन मानिरहेका छैनन् भने जहाज कम्पनीहरूले पनि ढुवानी भाडा र बिमा शुल्क झन्डै दोब्बरले बढाइसकेका छन् ।
मोरङको कटहरीमा वाग्मती आयलका सञ्चालक मनोज तापडियाले अहिलेको अवस्थामा बजारमा तेल पाउनु नै ठुलो कुरा भएको भन्दै अवस्थाजन्य कारणले गर्दा मूल्य वृद्धि स्वभाविक भएको बताए । उनले भने, “अहिले बजारमा प्रशोधित खानेतेल पाइनु नै ठुलो कुरा छ । युद्ध अझै केही समय लम्बियो भने बजारमा खाने तेल अभाव हुन सक्छ ।’
तापडियाका अनुसार युद्धअघि प्रतिटन ८ सय डलरमा पाइने भटमासको कच्चा तेल अहिले १ हजार २५० डलर पुगिसकेको छ । यस्तै सूर्यमुखी तेलको मूल्य पनि ९५० डलरबाट बढेर १ हजार ४५० डलर पुगेको छ । ढुवानी भाडा पनि ७० डलरबाट बढेर १४० डलर पुग्दा त्यसको सिधै असर नेपाली बजारको मूल्यमा पर्न थालेको हो ।
भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले चालु आर्थिक वर्षको फागुन सम्ममा मात्रै झन्डै ८१ अर्ब रुपैयाँ बराबरको भटमास र सूर्यमुखीको कच्चा तेल आयात गरिसकेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।