धरान । सुनसरीको धरानमा मानिसको उपचारका लागि अनुमति लिएको पोलिक्लिनिकमै कुकुरको पनि उपचार भइरहेको पाइएको छ।
धरान–१२ स्थित सुनसरी पोलिक्लिनिक एण्ड डाइग्नोसिस सेन्टर प्रा.लीमा मानवसँगै पशु उपचार भइरहेको भेटिएको हो।
शनिबार बिहान उक्त पोलिक्लिनिकमा कुकुरको एक्स–रेसहित उपचार गरिएको देखिएको छ। कुकुरका धनीले सोही स्थानमा उपचार गराइएको बताएका छन्।
पोलिक्लिनिकका सञ्चालक लालुप्रसाद यादवले पशु उपचार गर्ने अनुमति नभएको स्वीकार गर्दै ‘मानवीयताको आधारमा’ सेवा दिएको बताएका छन्। “मान्छे पनि एनिमल नै हो,” भन्दै उनले धरान क्षेत्रमा पशु उपचार सेवा अभाव भएकाले आपतकालीन रूपमा उपचार गरिएको दाबी गरे। अनुमति पत्र देखाउन आग्रह गर्दा उनले अस्वीकार गरेका छन्।
पोलिक्लिनिकका कर्मचारीका अनुसार त्यहाँ दैनिकजसो कुकुरको उपचार हुने गरेको छ। “हामी कर्मचारी मात्र हौं, मालिकले भनेपछि गर्नुपर्छ,” उनीहरूको भनाइ छ।
उता धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले यस्तो कार्य गैरकानुनी भएको स्पष्ट पारेका छन्। “मानव उपचार हुने स्थानमा पशुपन्छीको उपचार गर्न पाइँदैन, यो स्वास्थ्य ऐनविपरीत हो,” उनले भने, “यस्तो गतिविधि भेटिए अनुसन्धान गरी कारबाही गर्छौं।”
भेटनरी सेवा दिनका लागि सम्बन्धित निकायबाट अनुमति आवश्यक पर्ने कानुनी व्यवस्था रहेको छ। मानव स्वास्थ्य संस्थामै पशु उपचार गरिएको घटनाले स्वास्थ्य मापदण्ड र नियमनमाथि प्रश्न उठाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।