विराटनगर । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रतिवेदन बुझाउने कार्यक्रम तय भएको छ ।
आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउनुअघि आजै बिहान समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने तयारी समेत गरेको छ । प्रवक्ता भट्टराईले बिहान ११ बजे आयोगको कार्यालयमा एक विशेष समारोहका बीच समानुपातिकतर्फका ११० जना सांसदहरूलाई प्रमाणपत्र प्रदान गरिने जानकारी दिए ।
“बिहान ११ बजे समानुपातिकतर्फका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ भने त्यसपछि अपराह्न ४ बजे राष्ट्रपतिज्यूलाई निर्वाचनको प्रतिवेदन बुझाइनेछ,” प्रवक्ता भट्टराईले भने ।
समानुपातिकतर्फ आयोगले राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिसकेको छ । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीलाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा एमालेलाई १६, नेपाली कम्युनिस्ट पार्टीलाई ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ४–४ सांसद दिने निर्क्यौल भएको छ ।
राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि आयोगले साँझ साढे ५ बजे पत्रकार सम्मेलन गरी निर्वाचनसम्बन्धी सम्पूर्ण जानकारी गराउने बताएको छ । गत फागुन २१ गते मुलुकभर प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको थियो । आयोगले प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठन र संसदीय प्रक्रिया अघि बढाउन संवैधानिक बाटो खुल्नेछ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।