विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित नाम्जे क्षेत्रमा पर्ने भेडेटार–थुम्की–लबडाँडा सडकखण्ड ६ दिनपछि पुनः सञ्चालनमा आएको छ ।
भेडेटार–रवि–राँके निर्माणाधीन सडकअन्तर्गत उक्त खण्ड फागुन २९ गते बिहान माथिबाट खसेको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको थियो।
लगातारको वर्षाले अवस्था झन् जटिल बनाउँदा सडक खुलाउन निकै कठिन भएको थियो। अहिले सडक सञ्चालनमा आएपनि पहिरोको जोखिम अझै कायम रहेको छ।
सडकमा थुप्रिएको माटो हटाउन प्राविधिक तथा उपकरणीय समस्या देखिँदा आवागमन लामो समयसम्म प्रभावित बनेको थियो। यात्रुहरू अलपत्र परेका थिए भने वैकल्पिक मार्गसमेत प्रभावकारी बन्न सकेको थिएन।
निर्माण कम्पनी एपीसीओ इन्फ्राटेक प्रालि र सुरक्षाकर्मीको संयुक्त प्रयासमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो। इलाका प्रहरी कार्यालय भेडेटारका इन्स्पेक्टर महेश भट्टराईले निरन्तर प्रयासपछि अवरोध हटाएर सडक खुलाइएको जानकारी दिए।
सडक अझै जोखिमपूर्ण रहेकाले यात्रु र सवारी चालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले सडक खुलेसँगै आवतजावत सहज भएपनि जोखिम पूर्ण रूपमा नहटेको बताए। उनले सुख्खा पहिरो खस्ने सम्भावना रहेकाले सावधानीपूर्वक यात्रा गर्न सबैलाई अनुरोध गरेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।