खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–२ बालावेशीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार पाँच जना सवार हेलिकप्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
बुधबार दिउँसो १२ बजेर २ मिनेट जाँदा काठमाडौंबाट आएको नाइन एन–एएचक्यु कलसाइन भएको हेलिकप्टर अवतरणका क्रममा तीव्र हावाका कारण अनियन्त्रित भई भित्तामा ठोक्किएर पल्टिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । हेलिकप्टरमा चालक सविन थापासहित पाँच जना यात्रु सवार थिए।
दुर्घटनामा सोही क्षेत्रका ५० वर्षीय काजीबहादुर राई घाइते भएका छन्। उनलाई तत्काल एयर डाइनेष्टीकै अर्को हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । अन्य सवार सबैको अवस्था सामान्य रहेको छ।
हेलिकप्टर किन आएको भन्ने विषय खुलेको छैन । जिल्ला प्रशासन कार्यालयका अनुसार हेलिकप्टर शव बोकेर आएको थियो । प्रहरीले आमाको काजकिरियाका लागि परिवारका सदस्यहरू आएको जनाएको छ।
प्रहरीका अनुसार अवतरणका क्रममा आएको हावाको तीव्र वेग नै दुर्घटनाको मुख्य कारण रहेको प्रारम्भिक निष्कर्ष छ। केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।