लोड हुँदैछ...

मेनु

बजारमा मूल्य वृद्धिले घण्टी बजाउँदा तनावमा उपभोक्ता

बजारमा मूल्य वृद्धिले घण्टी बजाउँदा तनावमा उपभोक्ता

विराटनगर । अन्तर्राष्ट्रिय बजारमा देखिएको उथलपुथल र आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण नेपाली बजारमा मूल्य वृद्धिको नकारात्मक असर देखापर्न थालेको छ ।

मध्यपूर्वमा चर्किएको युद्ध र रुस–युक्रेन तनावको बाछिटा नेपाली उपभोक्ताको भान्सादेखि निर्माण क्षेत्रसम्म पर्न थालेको हो । अन्तर्राष्ट्रिय स्तरमा आपूर्ति शृङ्खला प्रभावित हुँदा नेपालमा आयात हुने सामान र औद्योगिक कच्चा पदार्थको लागत ह्वात्तै बढेको छ, जसले आम सर्वसाधारणलाई महँगीको चर्को मारमा पार्न थालेको छ ।

समुद्री मार्गमा देखिएको जोखिमका कारण सिप्मेन्ट कम्पनीहरूले प्रति कन्टेनर झन्डै २००० डलरसम्म अतिरिक्त ‘सरचार्ज’ वा भाडा बढाएकाका कारण वस्तुको मूल्य वृद्धि अनिवार्य बनेको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताए । उनका अनुसार यसले आयातित वस्तुको लागत बढाउन मुख्य भूमिका खेलेको छ । नेपाल कच्चा पदार्थ र उपभोग्य वस्तु दुवैमा आयातमा निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारमा हुने सामान्य उतारचढावले पनि यहाँको बजारलाई अस्थिर बनाउने गरेको छ । विशेषगरी प्लास्टिकजन्य सामान बनाउन प्रयोग हुने ‘ग्रेनुअल्स’ को मूल्यमा २५ देखि ३० प्रतिशतसम्म वृद्धि भएको उद्योग संगठन मोरङका पूर्व अध्यक्ष तथा प्लाष्टिक उद्योगी राकेश सुरानाले जानकारी दिए । । खाडी मुलुकहरूबाट सिप्मेन्ट रोकिएको र भारतले पनि औद्योगिक कच्चा पदार्थभन्दा खाना पकाउने ग्यास उत्पादनलाई प्राथमिकता दिएकाले यो समस्या जटिल बनेको उनको भनाइ छ ।

निर्माण क्षेत्रमा मूल्य वृद्धिको झन् धेरै असर परेको छ । निर्माण व्यवसायी दिलिप शर्माका अनुसार फलामे डण्डीको उपभोक्ता मूल्य प्रतिकेजी ५ रुपियाँका दरले बढेको छ भने सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपियाँका दरले बढाइएको छ । शर्मा भन्छन्, “निर्माण क्षेत्रमा प्रयोग हुने पिभिसी पाइप, प्लास्टिकका पाइप, बिजुलीको तारलगायतका वस्तुको मूल्य अकासिएकाले अब निर्माण कार्य निकै महँगो हुने देखिएको छ । यसले विकास निर्माणका काममा समेत गम्भीर असर पु¥याउनेछ ।”

औद्योगिक क्षेत्रको अवस्था पनि उस्तै निराशाजनक रहेको उद्योग संगठन मोरङका पूर्व अध्यक्ष राकेश सुरानाले बताए । उनका अनुसार कच्चा पदार्थ नै नपाउने समस्याले उद्योगहरू बन्द हुने अवस्थामा पुग्नसक्ने देखिएको छ । नेपाली व्यवसायीले एलसी खोलेर पैसा पठाइसकेको सामान समेत भारतीय वा तेस्रो पक्षका आपूर्तिकर्ताले दिन इन्कार गरिरहेको भन्दै सुरानाले भने, “भारतीय आपूर्तिकर्ताहरूले पुरानो अर्डर रद्द गरेर नयाँ बढेको मूल्य मागिरहेका छन् । उनीहरू पैसा फिर्ता लैजाऊ भन्छन् तर कच्चा पदार्थ पठाउन तयार छैनन् । यसले गर्दा नेपाली उत्पादन (विशेष गरेर प्लाष्टिकजन्य वस्तु) ३५ देखि ४० प्रतिशतसम्म महँगो हुने स्थिति देखिएको छ ।”

पछिल्लो मूल्य वृद्धिको प्रत्यक्ष असर उपभोक्ताले दैनिक प्रयोग गर्ने खाने तेलमा पनि परेको छ । कच्चा पदार्थको अभाव र ढुवानी खर्च बढेका कारण खाने तेलको बजार मूल्य झन्डै २० प्रतिशतले वृद्धि भएको तेल उद्योगी राठीले जानकारी दिए । यसका साथै लुब्रिकेन्ट र ऊर्जाको क्षेत्रमा पनि संकट देखिएको छ । बिटुमिन, फर्नेस आयल र डिजेलको मूल्य बढ्दा समग्र उत्पादन लागत महँगो भएको छ । इन्धनको मूल्य वृद्धिले ढुवानी भाडा बढ्दा त्यसको अन्तिम भार उपभोक्ताकै टाउकोमा थुपरिएको उद्योगीहरुको भनाइ छ ।

महंगो मूल्यमा आयातित कच्चा पदार्थ वा तयारी वस्तुको भन्सार मूल्य पनि बढी तिर्नु पर्दा बजारमा वस्तु थप महंगो हुने भएकोले उपभोक्ता थप महंगीको मारमा पर्ने सम्भावना देखिएको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष राठीले भने, ‘प्लास्टिकको मूल्य बढ्दा यसको ‘चेन इफेक्ट’ प्याकेजिङ, जुत्ता–चप्पल र खाद्यान्न प्याक गर्ने बोराहरूमा समेत परेको छ । नेपाल करिब आत्मनिर्भर भइसकेका जुत्ता चप्पल उद्योगहरू समेत अहिले कच्चा पदार्थको मूल्य वृद्धिका कारण अप्ठ्यारोमा परेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा भएको महँगी र बजारको अनिश्चितताले गर्दा व्यवसायीहरूले आजभोलि थोरै मात्र मालसामान खरिद गर्ने गरेका छन्, जसले बजारलाई शिथिल बनाएको छ । अर्कोतर्फ, संकटको मौका छोपेर ठुला कम्पनीहरूले सामान ‘होल्ड’ गरेर थप नाफा कमाउन खोज्ने प्रवृत्तिले पनि महँगीलाई बल पु¥याएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य अभिनाश बोहोराले बताए । उनका अनुसार यदि मध्यपूर्व र युक्रेनको युद्ध अझै केही समय लम्बिने हो भने नेपाली बजारमा उपभोग्य वस्तुको मूल्य यो भन्दा धेरै बढ्न सक्छ, अहिले भारतमा जति मूल्य बढेको छ त्यसको तुलनामा नेपालमा मूल्य बढेको छैन तर यो अवस्था अरु एक दुई साता लम्बिएको अवस्थामा निकै गाह्रो हुनसक्ने उनीहरुको अनुमान छ ।

लामो समयदेखि स्थिरजस्तो देखिएको वस्तुको मूल्य शृङ्खलामा अचानक उचारचढाव आई चौतर्फी मूल्य वृद्धिले घण्टी बजाउन थालेपछि उपभोक्ताहरू तनावमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।