लोड हुँदैछ...

मेनु

सी जिनपिङको पुस्तक जलाएकोमा चिनिया दुतावासको आपत्ती, कार्वाही गर्न गृहको निर्देशन

सी जिनपिङको पुस्तक जलाएकोमा चिनिया दुतावासको आपत्ती, कार्वाही गर्न गृहको निर्देशन

विराटनगर । गृह मन्त्रालयले मोरङ बुढिगंगास्थित मनमोहन टेक्निकल इन्स्टिच्युट मा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गभरमेन्स अफ चाइना’ जलाइएको घटनामा छानबिन गरी कारबाही अघि बढाउन नेपाल प्रहरीलाई निर्देशन दिएको छ।

घटनाले नेपाल–चीन सम्बन्धमा असर पार्नसक्ने भन्दै काठमाडौस्थित चिनियाँ दूतावासले कूटनीतिक चासो देखाएपछि परराष्ट्र मन्त्रालयमार्फत गृह मन्त्रालयलाई पत्राचार भएको थियो ।

परराष्ट्रको पत्रपछि गृहले आवश्यक कारबाहीका लागि प्रहरीलाई निर्देशन दिएको हो। मोरङको बूढीगंगामा रहेको संस्थामा सरसफाइका क्रममा ‘पत्रु’ सामग्री जलाउँदा उक्त पुस्तकसमेत जलेको भिडियो सार्वजनिक भएपछि घटना विवादमा आएको हो। यस सम्बन्धमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय मोरङलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।

गृहको निर्देशनपछि प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले संस्थालाई २४ घण्टाभित्र घटनाबारे सत्यतथ्य प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् । प्रशासनले यसलाई संवेदनशील विषय मानेर गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएको छ।

संस्थाका उपकुलपति सुवासश्री पोखरेलले घटना नियतवश नभई सरसफाइका क्रममा भएको मानवीय कमजोरी भएको दाबी गरेका छन् । यद्यपि, घटनाको कूटनीतिक र राजनीतिक महत्वका कारण यसले व्यापक चर्चा पाएको छ।

विश्वविद्यालयको अटोमोबाइल वर्कसप सफा गर्ने क्रममा राष्ट्रपतिका राजनीतिक र दार्शनिक विचार समेटिएका ‘द गभर्नेन्स अफ चाइना’ का थान पुस्तकहरू सार्वजनिक रूपमा जलाइएको सार्वजनिक भएको थियो ।

करिब २५ दिनअघि एउटा टोलीले सामग्रीको वर्गीकरण गरी ढुसी लागेका र काम नलाग्ने कागजपत्र नष्ट गर्न स्टोर शाखा र सिभिल विभागका कर्मचारीलाई जिम्मेवारी दिएको विश्वविद्याल यको दावी छ । शनिबार दिनभरको सरसफाइपछि साँझ कलेज परिसरमै ती सामग्री जलाइएको थियो ।

पुस्तक तत्कालीन नेता स्व.भरतमोहन अधिकारीको पालामा विश्वविद्यालय स्थापनाका क्रममा ल्याइएको बताइएको छ। घटनाको संवेदनशीलता र छिमेकी मुलुकको राष्ट्रप्रमुखको प्रतिष्ठा जोडिएकाले स्थानीय प्रशासनले यसलाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।