लोड हुँदैछ...

मेनु

रास्वपाको अभिमुखीकरणमा बालेन अनुपस्थित, रविले समापन गर्ने

रास्वपाको अभिमुखीकरणमा बालेन अनुपस्थित, रविले समापन गर्ने

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नवनिर्वाचित सांसदहरूको लागि ललितपुरमा सुरू भएको अभिमुखीकरण कार्यशालामा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) अनुपस्थित भएका छन् ।

दुई दिनसम्म ग्वार्कोस्थित रोयल टुलिप होटलमा चल्ने अभिमुखीकरण पार्टी सभापति रवि लामिछाने विरामी रहेको कारण अनुपस्थित हुँदा बालेन पनि अनुपस्थित भएका हुन् ।

सभापति लामिछानेले भने कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्ने बताइएको छ । बालेन भने सहभागी हुने कि नहुने नेताहरुले कुनै जानकारी दिएका छैनन् । सभापति र वरिष्ठ नेता अनुपस्थित भएपछि उपसभापतिद्वय, डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेले कार्यक्रम उद्घाटन गरेका थिए ।

बालेन अनुपस्थित भएकोबारे उपसभापति अर्याललले व्यस्त रहेको जानकारी कार्यक्रममा दिएका थिए । अर्यालले सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई पनि अभिमुखीकरण कार्यक्रममा सहभागी गराउने प्रयास भइरहेको जानकारी दिए ।

‘दुवै जनाको स्वास्थ्य स्थिति र अत्यन्तै कार्यव्यवस्तताका कारण उपस्थित नहुनुभएको हो,’ उनले भने, ‘समापनअघि उपस्थित गराउने प्रयास गराउने छौं ।’ तर, पार्टीको कार्यक्रमबाहेकको व्ययस्तता के हो भन्ने खुलेको छैन । सभापति लामिछाने भने विरामी भएर अस्पताल भर्ना भएकोमा सोमबार मात्र डिस्चार्ज भएका थिए । उनी घरमै आराम गरिररहेको बताइएको छ ।

रास्वपाको कार्यक्रममा संसदका पूर्वसचिव सुरेश अधिकारीले मौजुदा संसदको संरचना कार्यप्रणालीबारे नव सांसदहरूलाई जानकारी गराउने कार्यसूची रहेको छ। उनले आफ्नो अनुभवको आधारमा प्रस्तुति दिनेछन्। यस्तै, पार्टी उपसभापति स्वर्णिम वाग्लेले चुनावी वाचापत्र र सांसदहरूको जिम्मेवारीबारे प्रशिक्षित तुल्याउनेछन्। वाग्ले वाचापत्र लेखन समितिका संयोजक पनि थिए।

कानुन सचिवसमेतको जिम्मेवारी सम्मालिसकेका तोयानाथ अधिकारी कानुन निर्माण संघीय संसदको भूमिकाबारे सुसूचित गर्नेछन्। उनले पनि आफ्नो अनुभवका आधारमा सांसदहरूलाई नोट सेयर गर्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।

अभिमुखीकरणमा रास्वपाले अध्येता तथा विश्लेषक दोभान राईलाई पनि आमन्त्रित गरेको छ। राईले संसद र नागरिकबीचको सम्बन्धबारे बताउनेछिन्। डिजिटल युगमा नागरिकसँग संवाद कसरी कायम गर्ने, प्रभावकारी सञ्चारसीपको प्रयोग कसरी गर्ने भन्नेबारे प्रशिक्षित तुल्याउने उनको कार्यसूची छ।

चितवन–३ बाट निर्वाचित सोविता गौतमलगायत केही सांसदहरूले आफ्नो अनुभव साझा गर्ने कार्यसुची पनि रहेको छ । बुधबार सुरूआतमा एलपी भानु शर्माले योगाभ्यास, ध्यान गराउनेछन् भने योजना तर्जुमा, बजेट निर्माण, विन्यासबारे तोयानारायण ज्ञवालीले प्रशिक्षण दिनेछन्। उनी राष्ट्रिय योजना आयोगका पूर्वसचिवसमेत हुन्।

पार्टी र संसदको सम्बन्धबारे महामन्त्री कविन्द्र बुर्लाकोटीले सांसदहरूलाई प्रशिक्षित गर्नेछन्। सत्रको अन्त्यमा सभापति रवि लामिछानेको निर्देशनसहित अभिमुखीकरण समापन गर्ने बताइएको छ ।

फागनु २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाइ मत प्राप्त गरेको थियो। प्रत्यक्षतर्फ १२५ र समानुपातिक गरी ५७ सिटमा विजय हासिल गरेको पार्टीले बालेनलाई प्रधानमन्त्री बनाउने सहमति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।