लोड हुँदैछ...

मेनु

पर्याप्त बजारमा पठाउँदा पनि किन देखिदैछ ग्यासको अभाव ?

पर्याप्त बजारमा पठाउँदा पनि किन देखिदैछ ग्यासको अभाव ?

विराटनगर । खाना पकाउने ग्यासको अभाव हुनसक्ने त्रासका कारण उद्योगहरुले पर्याप्त ग्यास पठाए पनि बजारमा अभावको अवस्था देखिएको छ । सहज रुपमा ग्यास नपाएका कारण खाली सिलिण्डर बोकेर पसल पसल डुल्नेहरु अझै सडकमा देखिने गरेका छन् ।

बजारमा ग्यास अभाव भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय मोरङले आइतबारबाट बजार अनुगमन सुरु गरेको छ ।

नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालय विराटनगरले उपलब्ध गराएको पछिल्लो १५ दिनको तथ्यांक अनुसार पनि बजारमा आवश्यकता अनुसार ग्यास उपलब्ध भइरहेको पाइएको छ ।

कोशी प्रदेशमा रहेका ग्यास बोटलिङ उद्योगहरुले अभावको अवस्था आउन नदिन विगतको भन्दा बढी पर्चेज डेलिभरी अर्डर (पिडिओ) लिइरहेका छन् भने दैनिक १८ देखि २० बुलेट ग्यास भारतबाट कोशी प्रदेशमा आइरहेको निगम कोशी प्रादेशिक कार्यालयका प्रबन्धक पुष्कर कार्कीले जानकारी दिए । उनले बजारमा ग्यासको अभाव नभएको तर सर्वसाधारणलाई भने अभाव हुनसक्ने त्रास भएका कारण थोरै समस्या आएको बताउनुभयो । अहिले आधा सिलिण्डर बजारमा पठाउन थालेपछि करिब समाधान भइसकेको जानकारी दिए ।

निगमको कोशी प्रादेशिक कार्यालयको आधिकारिक तथ्याङ्क र बजारको आपूर्तिको तथ्यांक अनुसार पनि बजारमा ग्यासको अभाव हुने अवस्था देखिदैन । तर उपभोक्ताहरुले भने सहज रुपमा ग्यास नपाएको बताइरहेका छन् ।

निगमले फागुन १३ गतेदेखि फागुन २८ गतेसम्मको १५ दिनको अवधिमा यहाँका ५ वटा मुख्य बोटलिङ उद्योगहरूलाई कुल २१७ बुलेट ग्यास आयातका लागि अनुमति पत्र अर्थात् पिडिओ जारी गरेको छ । यसरी अनुमति दिइएकामध्ये १०० बुलेट बढी ग्यास उद्योगहरूले आयात गरी बिक्रीको प्रक्रियामा ल्याइसकेका छन् । निगमले माग अनुसारको पिडिओ जारी गरिरहेको र भारतबाट हुने आयातमा पनि कुनै कटौती नभएकोले बजारमा अभाव हुने कुनै कारण नै नभएको प्रादेशिक कार्यालयका प्रबन्धक कार्कीले बताए ।

यस अवधिमा मोरङको कोशी ग्यास उद्योगले ८९ ओटा पिडिओ लिएको छ । जसमध्ये ३६ बुलेट ग्यास प्राप्त भइसकेको र अरु आउने क्रममा रहेको निगमले जनाएको छ । यसैगरी प्रिमा ग्यास उद्योगले ५३ बुलेटको पिडिओ लिएकोमा २० बुलेट आइसकेको छ । अन्य उद्योगहरुले पनि पर्याप्त पिडिओ खरिद गरेको र भारतबाट पनि विगतको तुलनामै ग्यास उपलब्ध भइरहेकोले कुनै समस्या नभएको निगमले जनाएको छ ।

निगमले उपलब्ध गराएको पछिल्लो पाँच दिनको दैनिक बिक्री विवरण अनुसार चैत १ गते १९९.४१ मेट्रिक टन ग्यास बजारमा पठाइएको छ भने त्यसको अघिल्लो दिन फागुन ३० गते ३५५ मेट्रिक टन भन्दा बढी ग्यास आपूर्ति भएको देखिन्छ । फागुन २७ गतेदेखि चैत १ गतेसम्मको अवधिमा मात्रै विभिन्न उद्योगबाट कुल ६० बुलेट ग्यास बजारमा आपूर्ति भएको तथ्याङ्कले देखाएको छ ।

एउटा बुलेटमा १ हजार २५० सिलिन्डर ग्यास हुन्छ । अहिले आधा सिलिण्डर ग्यास बजारमा पठाउने निर्णय भएकोले एउटा बुलेटबाट २ हजार ५०० सिलिण्डर ग्यास उपभोक्ता समक्ष पुगिरहेका कारणले अभाव नहुने उद्योग नविन रिजालले बताए । उनले भने, ‘उपभोक्तामा ग्यास अभाव हुन लागेको हल्ला फैलिएका कारण घरमा सिलिन्डर थुपार्ने प्रवृत्ति बढेकाले बजारमा ग्यासको अभाव जस्तो देखिएको हो । एउटा सिलिन्डरले पुग्ने ठाउँमा डरले दुई–तीनवटा सिलिन्डर होल्ड गर्ने मानवीय स्वभावले गर्दा बजारको वितरण प्रणालीमा चाप परेको देखिन्छ ।’ तर यो समस्या एक साताभित्र निकै समाधान भइसक्ने उनको भनाइ थियो । रिजालका अनुसार अभाव नहोस् भनेर उद्योगीहरुले पिडिओको संख्या पनि केही बढाएको र त्यसमा उद्योगीहरुको लगानीसमेत बढेको छ । एक बुलेट ग्यास खरिद गर्न उद्योगीले झण्डै २३ लाख रुपियाँ लगानी गर्नुपर्ने उनले बताए ।

नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालयले ग्यासको अभाव नहुने र निगमको विराटनगर डिपोमा पेट्रोल र डिजेलको मौज्दात पनि ८५ प्रतिशत रहेका कारण अन्य इन्धनको अभाव नहुने भन्दै उपभोक्तालाई विश्वस्त रहन आग्रह गरेको छ । प्रबन्धक कार्कीले भारतीय पक्षबाट ग्यास आपूर्तिमा कुनै रोकतोक नभएको र नियमित लोड भइरहेकोले उपभोक्ताहरु आत्तिएर सञ्चय गर्ने तिर नलाग्ने हो भने समस्या तुरुन्तै हट्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।