विराटनगर । भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई संखुवासभा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा संखुवासभाको चैनपुर नगरपालिका-१ का ५४ वर्षीय थोकराज भन्ने योकराज लिम्बु र सोही स्थानका ४० वर्षीय दुर्गा बहादुर लिम्बु रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय संखुवासभा मातहतको प्रहरी चौकी नुनढाकीबाट खटिएको टोलीले चैत १ गते पक्राउ गरेको हो ।
सर्वोच्च अदालत काठमाडौंको मिति २०८१ पुस २२ गतेको फैसलाले उनीहरूलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । फैसला पश्चात् फरार रहेका उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि संखुवासभा जिल्ला अदालत चैनपुरमा पेश गरिएको संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धन बहादुर राजवंशीले जानकारी दिनुभयो ।
यसैगरी, प्रहरीले बहु-विवाह मुद्दामा फरार रहेकी अर्की एक प्रतिवादीलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका-९ की ३७ वर्षीया सिता कार्की रहेकी छन् । उनलाई इलाका प्रहरी कार्यालय आँखिभुईबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
कार्कीलाई संखुवासभा जिल्ला अदालत चैनपुरको मिति २०८१ मंसिर १० गतेको फैसलाले बहु-विवाह मुद्दामा दोषी ठहर गरेको थियो । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि अदालत बुझाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।