विर्तामोड । चिया किसानलाई अनुदानको रासायनिक मल नदिएृको शुशिला कार्की नेतृत्वको सरकारले व्यापारीक घराना त्रिवेणी समूहको चिया बगानलाई भने अनुदानको रासायनिक मल दिने निर्णय गरेको छ ।
नागरिककको आक्रोशबाट पुरानो सरकार विघटन भएर बनेको कार्की सरकारले किसानलाई अनुदानको मल नदिएको भएपनि व्यापारिक घरानालाई दिएको हो ।
कृषि मन्त्रालयका सचिवको नेतृत्वमा गत फागुन ११ गते बसेको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको बैठकले व्यापारीक घराना त्रिवेणी समूहले सञ्चालन गरेको नेपाल चिया विकास निगमको नाममा अनुदानको मल दिने निर्णय गरेको छ । निगमलाई अनुदानको पोटास १५० मेट्रिक टन र युरिया १४० मेट्रिक टन उपलब्ध गराउने निर्णय भएको हो ।
मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेडको विराटनगरस्थित कार्यालयमा वफर स्टकमध्येबाट पोटास १५० मेट्रिक टन र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको विराटनगरस्थित कार्यालयमा रहेको वफर स्टकमध्येबाट युरिया १४० मेट्रिक टन अनुदानको मल त्रिवेणी समूहलाई उपलब्ध गराउन लिखित निर्देशन दिएको हो । त्रिवेणी समूहले नेपाल सरकारको ७ वटा चिया बगान लिजमा लिएर सञ्चालन गर्दै आएको छ ।
समूहले झापा र इलामको ५ हजार १९६ एकड जग्गामा रहेका ७ वटा चिया बगान २५ वर्षदेखि लिजमा लिएर सञ्चालन गर्दै आएको छ । व्यापारिक घरनाको बगानलाई मात्र अनुदानको रासायनिक मल दिने कृषि मन्त्रालयको निर्णयप्रति झापाका चिया किसान आक्रोशित छन् ।
‘पहुँच हुनेले जे गर्दा पनि भएको छ’ केन्द्रीय चिया सहकारी संघका अध्यक्ष हर्कबहादुर तामाङले भने,‘ किसानले मल कहिले पाइन्छ भनेर सोधेको सोधेकैं छन् । सरकारको निर्णय त्यस्तो आउछ ।’ उनले यो विषयमा छलफल गर्न चिया उत्पादक र किसान तत्काल बैठक बस्ने जानकारी दिए ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकृत इन्द्र अधिकारीले किसानका लागि मलको कोटा निर्धारण नहुनु दुखद् भएको बताए । किसानको गुनासोबारे चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा खबर गराइसकेको उनको भनाइ छ ।
‘किसानलाई मल नदिने कुरा हुँदैन । मन्त्रालयले गरेको निर्णय सच्याउदै किसानका लागि पनि मलको व्यवस्थापन गर्नुपर्छ’ अधिकाकरीले भने ।
झापासहित नेपालमा करिब २७ हजार हेक्टरमा चिया खेती हुने गरेको । नेपालमा करिब २ करोड ८० लाख केजी तयारी चिया उत्पादन हुने गरेको छ ।
अहिले चियाको पहिलो टिपाई ‘फस्ट फ्लस’ अहिले धमाधम भइरहेको छ । ‘फस्ट फ्लस’ चिया उच्च गुणस्तरको मानिन्छ । यो चिया महँगो दरमा विक्री हुन्छ । दुई दिन अघि भएको वर्षाले चिया किसानलाई खुसी बनाएको छ ।
‘फस्ट फ्लस’ चियाको टिपाई सकिएपछि किसानले बगानमा मलखाद्य हाल्नुपर्छ । सिँचाई र मलखाद्य गरेपछि बगानमा हरियो चिया पत्तीको टिपाई बाक्लो हुन्छ ।
चिया निर्यातबाट मुलुकमा वार्षिक करिब ४ अरब रुपैयाँ विदेशी मुद्रा आर्जन हुने गरेको तथ्याँक छ । नेपालमा ३० अर्थोडक्स, ३८ वटा सीटीसी गरी ६८ भन्दा बढी ठूला चिया उद्योग तथा १५ भन्दा बढी साना अर्थोडक्स चिया प्रशोधन उद्योगहरु सञ्चालनमा रहेका छन् भने १६० भन्दा बढी ठूला चिया बगान तथा १५ हजारभन्दा बढी किसान चिया खेतीमा आवद्ध छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।