लोड हुँदैछ...

मेनु

प्रतिबन्धित लागुऔषधसहित फार्मेसी सञ्चालिका पक्राउ

प्रतिबन्धित लागुऔषधसहित फार्मेसी सञ्चालिका पक्राउ

विराटनगर । सुनसरीको गढी गाउँपालिका-२ औरावनी चोकमा सञ्चालित एक फार्मेसीबाट भारी मात्रामा प्रतिबन्धित लागुऔषधसहित सञ्चालिका पक्राउ परेकी छिन् ।

मोरङको सुन्दरहरैचा नगरपालिका-८ घर भई हाल गढी-२ मा डेरा गरी बस्ने ३२ वर्षीया मोनिका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चौधरीले औरावनी चोकमा सटर भाडामा लिई ‘शिवमहिमा मेडिकल हल’ सञ्चालन गर्दै आएकी थिइन् ।

उक्त फार्मेसीबाट प्रतिबन्धित लागुऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (RIT) र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको संयुक्त टोलीले खानतलासी गरेको थियो । खानतलासीका क्रममा फार्मेसीमा लुकाई छिपाई राखेको अवस्थामा २ हजार ९३० ट्याब्लेट ‘ट्रामाडोल’ र ‘स्पास्पेन’ बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैबिच, मोरङको विराटनगर-३ बरगाछी चोकबाट पनि प्रहरीले ठुलो परिमाणमा गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको अररिया जिल्लाका पृथ्वी कुमार सिंह र कृष्ण कुमार सिंह ११ किलो ५२ ग्राम गाँजासहित पक्राउ परेका हुन् ।

पक्राउ परेका फार्मेसी सञ्चालिका चौधरी र भारतीय नागरिकहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।