लोड हुँदैछ...

मेनु

बीमितलाई अस्पताल बाहिर औषधि किन्न नलगाउन बिमा बोर्डको निर्देशन

बीमितलाई अस्पताल बाहिर औषधि किन्न नलगाउन बिमा बोर्डको निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्ड ले उपचारका लागि आएका बीमितलाई अस्पताल बाहिरबाट औषधि खरिद गर्न नलगाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।

बोर्डका सूचना अधिकारी विकेश मल्ल ले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिरका औषधि पसलबाट औषधि तथा औषधिजन्य सामग्री खरिद गर्न नलगाउन निर्देशन दिइएको जानकारी दिए।

उनका अनुसार केही स्वास्थ्य संस्थाले प्याकेजमा गरिने उपचारका क्रममा बीमितलाई अस्पताल बाहिरबाट औषधि खरिद गराउने गरेको गुनासो आएपछि यस्तो निर्देशन जारी गरिएको हो। “केही अस्पतालले बीमितलाई उपचारपछि बाहिर औषधि खरिद गर्न लगाएको गुनासो आएको छ,” उनले भने, “त्यसैले बीमितलाई बाहिर औषधि खरिद नगर्न नगराउन निर्देशन दिँदै अस्पताललाई परिपत्र गरेका हौँ।”

बोर्डका अनुसार कतिपय अस्पतालले बिमा सेवाअन्तर्गतका प्याकेजमा समावेश हुने औषधि तथा औषधिजन्य सामग्री अस्पतालमै उपलब्ध गराउनुको सट्टा बाहिरका औषधि पसलबाट नगदमा खरिद गर्न लगाउने गरेका छन्।

सूचना अधिकारी मल्लले बीमितलाई बाहिरबाट औषधि खरिद गर्न लगाउने अस्पतालको कार्य स्वास्थ्य बिमा ऐन २०७५, स्वास्थ्य बिमा नियमावली २०७५ तथा प्रचलित निर्देशिका र कार्यविधिविपरीत भएको बताए। उनले यस्तो कार्य गर्ने अस्पताललाई स्वास्थ्य बिमा नियमावली २०७५ को नियम १८ को उपनियम (१) को खण्ड (क) बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएका छन्।

नेपालमा सञ्चालनमा रहेको स्वास्थ्य बिमा कार्यक्रममा पाँच जना सदस्यसम्मको परिवारका लागि ३ हजार ५०० रुपैयाँ योगदान रकम तिरेर एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा प्राप्त गर्न सकिन्छ। त्यस्तै, थप प्रत्येक सदस्यका लागि ७०० रुपैयाँका दरले योगदान रकम बढ्दै जाने र प्रति सदस्य २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।