लोड हुँदैछ...

मेनु

सुरक्षा र राजनीतिक तनावका कारण इरान २०२६ विश्वकपबाट बाहिरिने संकेत, सहभागिता अनिश्चित

सुरक्षा र राजनीतिक तनावका कारण इरान २०२६ विश्वकपबाट बाहिरिने संकेत, सहभागिता अनिश्चित

काठमाडौँ । इरान र अमेरिकाबीच बढ्दो तनाव तथा सुरक्षा चुनौतीका कारण इरानले सन् २०२६ को फिफा विश्वकपमा सहभागी हुन नसक्ने संकेत गरेको छ । इरानका युवा तथा खेलकुदमन्त्री अहमद दुन्यामालीले देशको वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दा विश्वकपमा भाग लिन सक्ने स्थिति नरहेको स्पष्ट पारेका हुन् ।

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरी सर्वोच्च नेता अली खामेनीको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध चरम तनावमा पुगेको छ । यसको प्रतिशोधस्वरूप इरानले इजरायल र अमेरिकी सैन्य आधारहरूमा मिसाइल तथा ड्रोन प्रहार गरेपछि क्षेत्रीय सुरक्षामा गम्भीर संकट पैदा भएको छ ।

आईआरआईबी स्पोर्ट्स नेटवर्कसँगको अन्तर्वार्तामा मन्त्री दुन्यामालीले भने, ‘यो भ्रष्ट सरकारले हाम्रा नेताको हत्या गरेको अवस्थामा हामीसँग विश्वकपमा सहभागी हुने कुनै पनि उपयुक्त वातावरण छैन । हाम्रा खेलाडीहरू सुरक्षित छैनन् र प्रतियोगितामा सहभागी हुने स्थिति बनेको छैन ।’ उनले पछिल्लो आठ–नौ महिनामा दुई वटा युद्धका कारण हजारौँ इरानी नागरिकले ज्यान गुमाएको उल्लेख गर्दै अहिलेको अवस्थामा सहभागिता असम्भव जस्तै रहेको बताए ।

आगामी जुन ११ बाट अमेरिका, क्यानडा र मेक्सिकोमा सुरु हुने विश्वकपको तालिकाअनुसार इरान समूह चरणमा तीन खेल खेल्ने तयारीमा थियो । इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्याण्डसँग, जुन २१ मा बेल्जियमसँग र जुन २६ मा सियाटलमा इजिप्टसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका छ ।

इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले पनि टोलीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएका छन् । उनले भने, ‘यदि विश्वकपमा पनि सुरक्षाको यस्तै चुनौती हुने हो भने टोलीलाई अमेरिका पठाउने निर्णय कुनै पनि समझदार व्यक्तिले स्वीकार गर्दैन ।’

यसअघि, इरानको महिला राष्ट्रिय टोलीका छ सदस्यले सुरक्षा चिन्ताकै कारण अष्ट्रेलियाबाट ‘मानवीय भिसा’ प्राप्त गरेका थिए । अष्ट्रेलियाका गृहमन्त्री टोनी बर्कका अनुसार सात जनालाई शरण दिइएकोमा एक खेलाडी भने स्वदेश फर्किएकी थिइन् ।

अर्कोतर्फ, फिफा अध्यक्ष जियानी इन्फान्टिनोले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरी इरानलाई विश्वकपमा स्वागत गर्न अमेरिका तयार रहेको बताएका थिए । इन्स्टाग्राममार्फत इन्फान्टिनोले फुटबलले विश्वलाई जोड्ने र यस्ता कार्यक्रमले मानिसलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गरेका थिए ।

यदि इरानले आधिकारिक रूपमा नाम फिर्ता लिएमा फिफाले प्रतिस्थापन टोली छनोट गर्न सक्नेछ । एसियाली फुटबल महासंघ ९एएफसी० अन्तर्गतका इराक वा संयुक्त अरब इमिरेट्स ९यूएई० ले मौका पाउन सक्ने चर्चा छ । तर, विश्वकपबाट पछि हटेमा इरानले फिफाको कडा प्रतिबन्ध खेप्नुपर्ने हुनसक्छ । यसअघि सन् १९८२ को विश्वकप छनोटमा कुवेतसँग खेल्न अस्वीकार गर्दा इरानलाई १९८६ को विश्वकपमा प्रतिबन्ध लगाइएको इतिहास छ ।

अन्तिम निर्णय इरानको फुटबल महासंघले गर्न बाँकी छ । फिफाले भने यस महिनाको अन्त्यमा हुने प्ले–अफ खेलहरू सकिएपछि मात्र सहभागी टोलीहरूको अन्तिम टुङ्गो लाग्ने बताएको छ । हालका लागि फिफाले इरानले आफ्ना निर्धारित खेलहरू खेल्ने अपेक्षा कायमै राखेको छ

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।