काठमाडौँ । प्रतिनिधिसभा मतदानको दिनमा मौसमले पनि मतदातालाई साथ दिने देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
यद्यपि, मुलुकका पहाडी तथा हिमाली भेगका केही सीमित स्थानमा भने हल्का वर्षा तथा हिमपातको सामान्य सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका हिमाली, पहाडी र तराई सबै क्षेत्रमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। मधेश प्रदेशका तराईका जिल्लाहरूमा पनि मौसम सफा रहने देखिएको छ।
बागमती प्रदेशका हिमाल, पहाड र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने पूर्वानुमान छ भने गण्डकी प्रदेशका सबै भू–भागमा आज आंशिक बदली हुने सम्भावना छ। लुम्बिनी प्रदेशको हकमा हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि तराई क्षेत्रमा भने मौसम सफा रहनेछ। कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रका साथै सुदूरपश्चिम प्रदेशका सबै भू–भागमा आज मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।