लोड हुँदैछ...

मेनु

टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा आज भारत र इंग्ल्यान्ड भिड्दै, विजेताले उपाधिका लागि न्युजिल्यान्डको सामना गर्ने

टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा आज भारत र इंग्ल्यान्ड भिड्दै, विजेताले उपाधिका लागि न्युजिल्यान्डको सामना गर्ने

काठमाडौं । आईसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा आज बिहीबार दुई बलिया टोली साबिक विजेता भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईको वानखेडे स्टेडियममा हुने यो रोमाञ्चक खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्ने टोलीले आगामी आइतबार हुने फाइनलमा उपाधिका लागि न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । भारत र इंग्ल्यान्ड दुवै टोली अहिलेसम्म दुई–दुई पटक विश्वकपको उपाधि उचालेका सफल टोली हुन् ।

विश्वकपको आयोजक समेत रहेको भारत सन् २००७ र २०२४ को विजेता हो । जारी विश्वकपमा समूह चरणमा अपराजित रहँदै सुपर ८ मा पुगेको भारतको प्रदर्शनमा केही उतारचढाव देखिएको छ । सुपर ८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भए पनि भारतले दोस्रो खेलमा जिम्बाबेलाई ७२ रनले र अन्तिम खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । सन् २०१४ को उपविजेता भारतले २०१६ र २०२२ मा पनि सेमिफाइनल खेलेको अनुभव बटुलिरहँदा यसपटक घरेलु मैदानको फाइदा उठाउँदै फाइनल पुग्ने लक्ष्य राखेको छ ।

यता, इंग्ल्यान्ड सन् २०१० र २०२२ को विश्वकप च्याम्पियन टोली हो । पछिल्ला पाँच संस्करणदेखि लगातार सेमिफाइनलमा पुगिरहेको इंग्ल्यान्ड यसपटक तेस्रो पटक उपाधि जित्ने दाउमा छ । समूह चरणमा नेपाल रहेको समूह ुसीु बाट उपविजेता बन्दै सुपर ८ मा पुगेको इंग्ल्यान्ड त्यहाँ भने अपराजित रह्यो । सुपर ८ मा श्रीलंकालाई ५१ रन, पाकिस्तानलाई २ विकेट र न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै इंग्ल्यान्ड समूह २ को विजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको हो । सन् २०१६ मा उपाधि नजिक पुगेर पनि चुकेको इंग्ल्यान्डले पछिल्ला वर्षहरूमा टी–२० फम्र्याटमा आफूलाई निकै आक्रामक रूपमा प्रस्तुत गर्दै आएको छ ।

टी–२० विश्वकपको इतिहासमा भारत र इंग्ल्यान्ड लगातार तेस्रो पटक सेमिफाइनलमा आमने–सामने हुन लागेका हुन् । यी दुई टोलीबीचको सेमिफाइनल भेटको एउटा रोचक पक्ष के छ भने, जसले सेमिफाइनल जितेको छ, उसैले विश्वकपको उपाधि पनि उचाल्ने गरेको छ । सन् २०२२ को सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई १० विकेटले हराएर उपाधि जितेको थियो भने २०२४ मा भारतले इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनल पुगेर उपाधि आफ्नो पोल्टामा पारेको थियो ।

समग्र हेड–टु–हेड तथ्याङ्क हेर्दा भारत र इंग्ल्यान्डबीच अहिलेसम्म २९ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा भारतले १७ खेल जितेको छ भने इंग्ल्यान्ड १२ खेलमा विजयी भएको छ । विश्वकपका पाँच भेटमध्ये भारतले ३ र इंग्ल्यान्डले २ खेल जितेका छन् । पछिल्लो समय सन् २०२५ मा भएका पाँच भेटमा भारतको वर्चस्व देखिएको छ, जहाँ भारतले ४ खेल जित्दा इंग्ल्यान्डले मात्र १ खेलमा नतिजा आफ्नो पक्षमा पारेको छ । आजको खेलमा दुवै टोली आफ्नो तेस्रो उपाधि यात्रा तय गर्न मैदानमा उत्रिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।