लोड हुँदैछ...

मेनु

मतदान गर्न जाँदै हुनुहुन्छ ? मतदाता परिचयपत्र नभए यी ५ मध्ये कुनै एक सक्कल कागजात बोक्न नबिर्सनुहोस्

मतदान गर्न जाँदै हुनुहुन्छ ? मतदाता परिचयपत्र नभए यी ५ मध्ये कुनै एक सक्कल कागजात बोक्न नबिर्सनुहोस्

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मतदान हुँदै गर्दा निर्वाचन आयोगले मतदान केन्द्रमा प्रवेशका लागि मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका सरकारी कागजातलाई मान्यता दिने स्पष्ट पारेको छ। मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रतिमध्ये कुनै एकका आधारमा मतदान गर्न पाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल दुई लाख २१ हजार कर्मचारी खटिएका छन्। ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकतर्फ मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा ती कर्मचारी खटाइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए। उनका अनुसार ५०० भन्दा बढी मतदाता भएका केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ कर्मचारी खटाउने व्यवस्था मिलाइएको छ। मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन अधिकृतको कार्यालयले आवश्यक प्रशिक्षण दिएर कार्यक्षेत्रमा खटाएको आयोगले जनाएको छ।

निर्वाचनलाई भयरहित र मर्यादित बनाउन आयोगले विशेष आचारसंहिता र प्रतिबन्धहरू समेत लागू गरेको छ। जिल्ला आचारसंहिता अनुगमन समितिले आवश्यक व्यक्ति तथा संयन्त्र परिचालन गरी निर्वाचन ९कसुर तथा सजाय० ऐन र निर्वाचन आचारसंहिता बमोजिम निषेध गरिएका कार्य हुन नदिने व्यवस्था मिलाएको छ। मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउन आयोगले निर्देशन दिएको छ।

यस्तै, मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षा निकायका सवारीसाधन, विद्युत्, खानेपानी तथा दूरसञ्चार सेवा मर्मतका साधन, कूटनीतिक निकायका सवारीसाधन र निर्वाचनका लागि पास प्राप्त सवारीसाधन बाहेक अन्य सवारीसाधन फागुन २० गते राति १२ः०० बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्म सञ्चालन गर्न पाइने छैन। आचारसंहिता विपरीतका कार्य भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन मातहतका निकायलाई निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds