विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनावी रौनक आज अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले तोकेको समयसीमा अनुसार सोमबार राति १२ बजेबाट राजनीतिक दल र उम्मेदवारहरूका लागि प्रचारप्रसारको ढोका बन्द हुँदैछ। आज मध्यरातदेखि ‘मौन अवधि’ सुरु हुने भएकाले उम्मेदवारहरूले आफ्ना एजेन्डा सुनाउन र मत माग्नका लागि अब केही घण्टा मात्र बाँकी छ।
आयोगका अनुसार मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्मको समयलाई मौन अवधि मानिन्छ। यस अवधिमा निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा-सम्मेलन, कार्यशाला वा गोष्ठी गर्न पाइने छैन।
मौन अवधि सुरु हुनुअघि नै मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका सबै प्रचार सामग्रीहरू हटाउनुपर्ने कानुनी प्रावधान छ। यसका साथै भौतिक रूपमा मात्र नभई सामाजिक सञ्जाल वा कुनै पनि विद्युतीय माध्यमबाट समेत मत माग्न र प्रचारप्रसार गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिको उल्लंघन गर्नेलाई कडा कारबाही हुने चेतावनी दिनुभएको छ। “मौन अवधिमा तोकिएको आचरणविपरीत कुनै पनि गतिविधि गर्ने उम्मेदवार वा दलको मनोनयन नै रद्द हुनसक्ने गरी आयोगले निगरानी बढाएको छ,” भण्डारीले भन्नुभयो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।