विराटनगर । मोरङका प्रहरी प्रमुख उपरीक्षक (एसपी) कवित कटवालले निर्वाचन विथोल्न खोज्ने अवाञ्छित तत्वहरू विरुद्ध कडा चेतावनी दिएका छन् ।
विराटनगरमा आयोजित एक कार्यक्रममा उनले निर्वाचन सामग्री र मतपेटिका (ब्यालेट) को सुरक्षाका लागि प्रहरीले आवश्यकता परे ‘बुलेट’समेत चलाउन सक्ने स्पष्ट पारे । मतपेटिका खोस्न खोज्ने वा मतदान प्रक्रियामा अवरोध पुर्याउने जोकोही विरुद्ध प्रहरीले कठोर कदम चाल्ने बताउँदै उनले भने, ‘ब्यालेटको सुरक्षाका लागि प्रहरीले बुलेटको प्रयोग पनि गर्छ, आवश्यक परे बन्दुक पड्किन्छ, यसमा सुरक्षाकर्मी पछि हट्दैनन् ।’
नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको निर्वाचन सुरक्षा र तयारी विषयक अन्तर्क्रियामा एसपी कटवालले आम नागरिक र मतदातालाई सुरक्षाप्रति आश्वस्त पार्दै सुरक्षा निकायको मुख्य प्राथमिकता नै निष्पक्ष र भयरहित निर्वाचन भएको बताए । उनले जिल्लाभर ७ हजार ८५१ सुरक्षाकर्मी परिचालन गरिएको र सुरक्षा योजनालाई ‘एकीकृत’ रूपमा अगाडि बढाइएको जानकारी दिए ।
मोरङका ३०६ मतदान स्थलमध्ये ४७ वटालाई ‘अति संवेदनशील’ सूचीमा राखेर विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । सुरक्षा सतर्कताकै परिणाम स्वरूप गएराति सुनवर्षीमा पैसा बाँड्न हिँडेको आरोपमा ४ लाख ४९ हजार रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको घटनाले प्रहरीको सक्रियता पुष्टि गरेको उनको भनाइ थियो।
सोही अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले फागुन १८ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने र यस अवधिमा कुनै पनि राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न नपाइने बताए । निर्वाचनलाई मर्यादित बनाउन मदिरा बिक्री वितरणमा पूर्ण रोक लगाइएको र ७२ घण्टा अगावै नेपाल–भारत सीमा नाका बन्द गरिने व्यवस्था गरिएको छ। यस्तै, आचारसंहिता अनुगमन अधिकृत टोमनाथ उप्रेतीले उम्मेदवारहरूको खर्च पारदर्शी बनाउन अनिवार्य बैंक खाताको व्यवस्था गरिएको र हालसम्म ६० जनाले खाता खोलिसकेको जानकारी दिए ।
एसपी कटवालले मतदानको दिन सवारी साधनको आवागमनमा रोक लगाइने र सुरक्षाको पूर्ण ग्यारेन्टी गरिने भएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न सबै मतदातालाई आग्रह गरे । उनले सुरक्षा निकायको ‘रिजर्भ फोर्स’ समेत तयार रहेकाले निर्वाचन भाँड्न खोज्नेले त्यसको गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।