लोड हुँदैछ...

मेनु

आचारसंहिता पालनामा कडाइ, सीमा नाका ७२ घण्टा बन्द गरिने

आचारसंहिता पालनामा कडाइ, सीमा नाका ७२ घण्टा बन्द गरिने

विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी मोरङ प्रशासनले आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाउने भएको छ । नेपाल पत्रकार महासंघ मोरङद्वारा आयोजित अन्तक्र्रियामा जिल्लाका सुरक्षा निकाय र निर्वाचन कार्यालयले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सुरक्षा र अनुगमनको तयारीलाई तीव्र पारिएको जानकारी दिएका हुन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार फागुन १८ गते राति १२ बजेदेखि ‘मौन अवधि’ सुरु हुनेछ, जसलाई कडाइका साथ पालना गराइनेछ । यस अवधिमा कुनै पनि प्रचारप्रसार गर्न पाइने छैन । साथै, सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल–भारत सीमा नाका ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द (सिल) गरिनेछ ।

जिल्ला प्रहरी प्रमुख एसपी कविता कटवालले निर्वाचन सुरक्षाका लागि ७ हजार ८ सय ५१ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो । निर्वाचनलाई असर पुग्ने गतिविधि रोक्न फागुन २० गते रातिदेखि सवारी साधनको आवागमनमा रोक लगाइनेछ । यस्तै, जिल्लाभर मदिरा बिक्री वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइनुका साथै इजाजत प्राप्त हतियार प्रशासनलाई बुझाउन निर्देशन दिइएको छ ।

उम्मेदवारहरूको आर्थिक गतिविधिलाई पारदर्शी बनाउन अनिवार्य रूपमा बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ । आचारसंहिता अनुगमन अधिकृत टोमनाथ उप्रेतीका अनुसार हालसम्म सिफारिस लिएका ९० मध्ये ६० जना उम्मेदवारले बैंक खाता खोलिसकेका छन् । निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकमार्फत नै गर्नुपर्ने प्रावधानलाई कडाइका साथ लागू गरिने उहाँले स्पष्ट पार्नुभयो ।

निर्वाचनको समयमा पर्ने होली र रमजान पर्वलाई निर्वाचन आचारसंहिता विपरीत नहुने गरी घरभित्रै मर्यादित रूपमा मनाउन प्रशासनले आग्रह गरेको छ । यस्तै, सञ्चारकर्मीहरूको सहजताका लागि मतगणना स्थलमा इन्टरनेटसहितको छुट्टै सूचना कक्षको व्यवस्था गरिने प्रतिबद्धता समेत अधिकारीहरूले जनाएका छन् ।

प्रशासनले आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याउने चेतावनी दिँदै निर्वाचनलाई सफल बनाउन सबै पक्षसँग सहयोगको अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।