विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न हिँडेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । गएराति सुनवर्षी नगरपालिकाबाट उनीहरूलाई ४ लाख ४९ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको हो ।
मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार राति ९ बजेको समयमा शङ्कास्पद गतिविधि भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले गाडी खानतलासी गरेको थियो । सो क्रममा स्रोत नखुलेको उक्त नगद फेला परेको हो । खानतलासी गरिएको गाडीमा नगदका साथै नेपाली कांग्रेसको निर्वाचन प्रचारप्रसारका सामग्रीहरू समेत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले रतुवामाई नगरपालिका–८ का ४५ वर्षीय लेखनाथ घिमिरे, रतुवामाई–९ का ६० वर्षीय खड्गबहादुर चोङवाङ र सोही वडाका ४७ वर्षीय चक्र नेपालीलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई आवश्यक परेको समयमा उपस्थित हुने सर्तमा राति नै छाडिएको र बरामद भएको रकम र गाडीलाई थप कारबाहीका लागि मोरङ निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा आज जिम्मा लगाइएको एसपी कटुवालले जानकारी दिए ।
स्थानीय अन्य राजनीतिक दलका कार्यकर्ताहरूले मतदातालाई पैसा दिएर प्रभावित पार्न खोजिएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । निर्वाचन आचारसंहिता लागू भइरहेको समयमा संकास्पद नगद र राजनीतिक सामग्रीसहित व्यक्तिहरू भेटिएपछि निर्वाचन स्वच्छ र निष्पक्ष हुने कुरामा राजनीतिक दलहरुले आशंका गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।