लोड हुँदैछ...

मेनु

रास्वपा कर्णालीका संस्थापक महामन्त्री र सुर्खेत सभापति कांग्रेसमा प्रवेश

रास्वपा कर्णालीका संस्थापक महामन्त्री र सुर्खेत सभापति कांग्रेसमा प्रवेश

सुर्खेत । निर्वाचनको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुर्खेतमा ठूलो धक्का लागेको छ।

पार्टीको सुर्खेतका कार्यवाहक सभापति जगत बस्नेत र कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रकला विकले पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेका छन्।

उनीहरूलाई कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुर्खेत पुगेर पार्टीमा स्वागत गरेका हुन्। चुनावको पूर्वसन्ध्यामा नेतृत्व तहकै जिम्मेवार पदाधिकारीले पार्टी छाड्नु रास्वपाका लागि राजनीतिक रूपमा गम्भीर झट्का मानिएको छ।

कांग्रेस प्रवेशका क्रममा संस्थापक महामन्त्री विकले रास्वपा भ्रष्टाचार अन्त्य र सुशासनको नारा लिएर उदाए पनि व्यवहारमा भने आन्तरिक अपारदर्शिता बढ्दै गएको आरोप लगाइन्। उनका अनुसार पार्टीभित्र आर्थिक पारदर्शिताको अभाव देखिएको छ।

‘पार्टीका तर्फबाट आगामी निर्वाचनमा उम्मेदवार हुन अर्ली इलेक्सनमा उठाइएको ५० हजार र प्रत्यक्ष निर्वाचनमा लिइएको २५ हजारको लेखाजोखा न प्रदेशले दिन सकेको छ, न त जिल्लाले नै। यसको रहस्य अझै बुझ्न सकिएको छैन,’ उनले भनिन्।

बस्नेत र विक दुवैले देशको राजनीतिक स्थायित्व, लोकतान्त्रिक मूल्यमान्यता र विकासको एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन रास्वपा असक्षम देखिएको दाबी गरे। उनीहरूले पार्टीभित्र सुधारको सम्भावना कमजोर बन्दै गएको भन्दै समयमै सचेत हुनुपर्ने निष्कर्षसहित कांग्रेस रोजेको बताए।

उनीहरूलाई स्वागत गर्दै उपसभापति शर्माले लोकतन्त्र सुदृढीकरण, सुशासन र जनताका मुद्दामा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गरे। उनले विभिन्न दलबाट आउने नेताहरूलाई लोकतान्त्रिक धारमा एकताबद्ध गर्दै अघि बढ्ने नीति कांग्रेसले लिएको बताए।

निर्वाचनको संघारमा भएको यो राजनीतिक परिवर्तनले सुर्खेतको चुनावी समीकरणमा प्रभाव पार्ने विश्लेषण गरिएको छ। विशेषगरी रास्वपाले कर्णालीमा संगठन विस्तार गर्ने प्रयास गरिरहेका बेला नेतृत्व तहकै बहिर्गमनले पार्टीको स्थानीय संरचना र मनोबलमा असर पर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।