विराटनगर । विराटनगरस्थित नोबेल हस्पिटल एण्ड मेडिकल कलेजमा उपचारका क्रममा गलत औषधिको प्रयोग गर्दा मृत्यु भएको विषयलाई लिएर दर्ता भएको चिकित्कीय लापरवाही मुद्दा अन्तिम फैसलाको चरणमा पुगेको छ ।
मोरङ जिल्ला अदालतमा विचाराधीन यस मुद्दाको अन्तिम पेशी आज फागुन १७ गते आइतबारका लागि तोकिएको छ ।
सुनसरीको इनरुवाकी विमला थापा पोखरेलको मृत्युको विषयलाई लिएर परेको यो मुद्दामा अदालतले आवश्यक सबै प्रमाण र प्रक्रिया पूरा गरिसकेको छ । यस मुद्दामा मुख्य अधिवक्ताको रूपमा बहस गरिरहनुभएका अधिवक्ता सुविन पाण्डेका अनुसार, मुद्दाको फैसलाका लागि आवश्यक सबै ‘अंग’ पुगिसकेको छ ।
“अदालतले मागेका सबै प्रमाणहरू संकलन भइसकेका छन् र साक्षीहरूको बकपत्र पनि सकिएको छ । त्यसैले फागुन १७ गतेको पेशीलाई अन्तिम मान्न सकिन्छ,” अधिवक्ता पाण्डेले भने । यद्यपि, प्रतिवादी पक्षले कानुनतः पेशी सार्न माग गरेमा भने पेसी सर्ने सम्भावना पनि छ ।
२०८१ साल माघ १० गते फोक्सो एवं श्वासप्रश्वासको उपचारका लागि नोबेल अस्पताल भर्ना भएकी विमला थापा पोखरेललाई ढाडको दुखाइ कम गर्न भन्दै विशेषज्ञ डा. रामहरि घिमिरेले ‘मोर्फिन’ नामक औषधि सिफारिस गरेका थिए । मोर्फिन एक शक्तिशाली पेनकिलर हो, जुन सामान्यतया क्यान्सर वा गम्भीर दुखाइमा प्रयोग गरिन्छ । तर, श्वासप्रश्वासका बिरामीका लागि यो औषधि घातक हुन सक्ने चिकित्सा विज्ञहरूको तर्क छ । सोही औषधिको प्रयोगपछि स्वास्थ्य अवस्था बिग्रिएर विमलाको मृत्यु भएको भन्दै उनका पति महेश्वर पोखरेलले २०८१ चैत २० गते अदालतमा मुद्दा दर्ता गरेका थिए ।
जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले यसअघि नै अस्पतालबाट उपचारका सम्पूर्ण सक्कल कागजात र मृत्युको कारणसहितको फाइल मगाउने आदेश दिएको थियो । साथै, नेपाल मेडिकल काउन्सिललाई ‘मोर्फिन इएनबी’ औषधिको कम्पोजिसन र यो कुन अवस्थामा प्रयोग गरिन्छ भन्ने विषयमा प्राविधिक जानकारी उपलब्ध गराउन आदेश दिइएको थियो । यी सबै प्रमाणहरू अदालतमा पेस भइसकेका छन् ।
पीडित पक्षले नेपालको संविधानको धारा ४२(२) र उपभोक्ता संरक्षण ऐनको दफा ३, ५० र ५१ बमोजिम ५ करोड रुपैयाँ क्षतिपूर्तिको माग गरेको छ । मोरङ जिल्लामै उपभोक्ता अधिकार अन्तर्गत चिकित्सा सेवामा लापरवाही भएको भन्दै दर्ता भएको यो पहिलो र ठूलो क्षतिपूर्ति दाबी गरिएको मुद्दा हो ।
यस मुद्दामा अधिवक्ता सुविन पाण्डेसँगै उपभोक्ता अधिकारवादी अधिवक्ता ज्योति बानियाँ र अधिवक्ता मानबहादुर रुम्दाली लगायतले बहस गरिरहेका छन् । चिकित्सा क्षेत्रमा हुने लापरवाहीमाथि प्रश्न उठाउँदै न्याय खोजिएको यो मुद्दालाई आम उपभोक्ता र नागरिक समाजले निकै चासोका साथ हेरिरहेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।