लोड हुँदैछ...

मेनु

अलपत्र हुलाकी सडक मोरङ ४ को मुख्य चुनावी एजेन्डा: त्यहि सडकका ठेकेदार घिमिरेका चुनाबी कमान्डर!

अलपत्र हुलाकी सडक मोरङ ४ को मुख्य चुनावी एजेन्डा: त्यहि सडकका ठेकेदार घिमिरेका चुनाबी कमान्डर!

विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी खण्डको करिब ७ किलोमिटर सडक वर्षौदेखि अलपत्र छ । कटहरी खण्डबाहेक सुनसरी र मोरङको अन्य क्षेत्रमा हुलाकी राजमार्गको सडक कालोपत्रे भइसकेको छ । तर, कटहरी खण्ड अलपत्र छ ।

निर्वाचनको बेला चुनाबी एजेण्डा बन्ने गरेको हुलाकी सडकको मोरङ क्षेत्र नं. ४ मा पर्ने सो खण्ड तत्काल निर्माण गर्ने कुरा सो क्षेत्रका सबै उम्मेदवारको प्रतिबद्धता छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि सो क्षेत्रमा उम्मेदवारहरु प्रायः सबैले सो क्षेत्रको सडक निर्माणको विषयलाई आफ्नो एजेण्डा बनाएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदी, नेपाली काँग्रेसका गुरुराज घिमिरे, नेकपा एमालेका जीवन घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशीसहित सबैको स्थानीय प्रतिबद्धता हुलाकी सडकको काम छिटोभन्दा छिटो सम्पन्न गर्ने छ । तर, वर्षाैदेखि सो सडकमा यात्रा गर्ने र आसपासका बासिन्दा हिलो र धुलो खान बाध्य छन् ।

तत्कालीन संघीय सांसद अमनलाल मोदीले अलपत्र सडकको काम तत्काल सुरु नगरेमा संसदमै अनसन बस्ने चेतावनी गत साउनको प्रतिनिधिसभा बैठकमा दिएका थिए । त्यसपछि सडक निर्माणको जिम्मा लिएको ठेकेदार पक्षले काम सुरु गर्ने सहमति गरेको थियो । रामचोकबाट करिब २ किलोमिटर काम पनि भयो । त्यसपछि प्रतिनिधिसभा विघटन भएसँगै काम अबरुद्ध छ । मोदीले आफूले यसअघि पनि पहल गरेर काम सुरु गराएको भन्दै फेरि पनि निर्वाचित भएमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

काँग्रेसका उम्मेदवार घिमिरेले पनि तत्काल काम हुलाकी सडकको काम सम्पन्न गर्ने आफ्नो स्थानीय प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । तर, रोचक पक्ष घिमिरेले हुलाकी सडकको काम
तत्काल सम्पन्न गर्ने प्रतिबद्धता सार्वजनिक गर्दा उनको छेउमा भने सोही सडक अलपत्र पार्ने ठेकेदार बसिरहेका थिए । उनी घिमिरेका सहयोगी मात्र हैन, चुनाबी कमाण्डर नै छन् ।

मोरङ ४ मा घिमिरे र काँग्रेसको चुनाबी चुनाबी अभियानका हर्ताकर्ता हुन्, अभिषेक गिरी । ‘गुण्डा नाइके’ भनेर चिनिने गिरी अपहरण तथा फिरौती काण्डमा लामो समय जेल बसेपछि केहि वर्ष अगाडि मात्र रिहा भएका थिए । त्यसपछि काँग्रेसमा सक्रिय भएर उनले ठेक्कापट्टाको काम गर्दै आएका छन् । अहिले भने उनी काँग्रेसभित्रत्र पनि सादगी, बौद्धिक र निष्ठावान् नेता मानिने पार्टी घिमिरे चुनाबी कमाण्डर बनेका हुन् ।

काँग्रेसको विषेश महाधिवेशनबाट महामन्त्री भएका घिमिरेले बनाएका चुनाबी कमाण्डरबारे काँग्रेस कार्यकर्ताले नै जिब्रो टोक्ने गरेका छन् । घिमिरेले आफ्नो चुनावी अभियानको ‘युवा परिचालन संयोजक’को जिम्मेवारी गिरीलाई सुम्पिएका छन् । तर, उनको भूमिका युवा संयोजक मात्र नभएर घिमिरेका प्रमुख सहयोगीको रुपमा छ । उनी अधिकांश समय घिमिरेका अघिपछि हुन्छन् भने उनका रणनीतिक काममा पनि साथमै रहन्छन् ।

गिरी अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले दोषी ठहर गरी जेल भुक्तान गरेपछि कांग्रेसको राजनीतिमा सक्रिय छन् । उनी आफूलाई समाजसेवी र राजनीतिक कार्यकर्ता भएको दाबी गर्छन् । तर, सुरुवातदेखि नै काँग्रेसको संरक्षण पाएका गिरि र एमालेका परशुराम बस्नेत दुबैलाई विराटनगरमा गुण्डा नाइकेको रुपमा चिनिन्थ्यो । उनीहरुको आपसमा भिडन्त हुने गरेको थियो ।

दुई पक्षको विवादपछि बस्नेतमाथि गोली प्रहार भएको थियो । गिरीको समूहले आफूमाथि गोली हानेको बताउने गरेका थिए भने बस्नेतको समूहले प्रहरी नियन्त्रणमै रहेको बेला मोरङ जिल्ला अदालत परिसरमा गिरिमाथि सांघातिक आक्रमण गरेको थियो । बस्नेत भने सोही क्षेत्रमा एमालेका उम्मेदवार जीवन घिमिरेलाई चुनाब जिताउन सक्रिय छन् ।

गुण्डागर्दी र ठेक्कापट्टाबाट राम्रै सम्पत्ती आर्जन गरेका बस्नेत र गिरिले दुबै पार्टी र नेतालाई प्रभावित पारेको देखिन्छ । बस्नेतको त एमाले अध्यक्ष केपी ओलीसँग सिधा सम्बन्ध छ
। उनी एमालेको केन्द्रीय सदस्य बनिसकेका छन् । गिरी पनि काँग्रेस महामन्त्री घिमिरेका विश्वासपात्र बनेका छन् ।

घिमिरेको चुनावी अभियानमा आवश्यक आर्थिक व्यवस्थापन पनि गिरीले नै गरिरहेको काँग्रेस कार्यकर्ताहरुले बताएका छन् । त्यहि भएर घिमिरेले गिरीललाई साथमा राखेको उनीहरको भनाइ छ ।

यसअघि गिरीमाथि गुण्डागर्दीको आडमा अकुत सम्पत्ती आर्जन गरेको भन्दै सम्पत्ती शुद्धिकरणको मुद्दा पनि दायर भएको थियो । तर, सो मुद्दामा भने उनले २०७५ सालमा सफाइ पाएका थिए । उनी मोरङ कारागारमा रहँदा चौकीदार बनेर असुली धन्दा चलाएको विवादमा फसेका थिए ।

गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण, अपहरण तथा शरीर बन्धक बाहेक कर्तव्य ज्यान मुद्दासमेत चलेको थियो । २०६५ सालमा तत्कालीन जिल्ला विकास समिति मोरङमा टेण्डर लुट्न जाँदा भएको झडपमा करण यादव मारिएको घटनामा गिरी मुछिएका थिए । तर, उनकै समूहका एक जनाले घटनाको जिम्मा लिँदै अदालतमा बयान दिएपछि गिरीले सफाइ पाएको विगत छ ।

जेलबाट छुटेपछि उनले ‘गिरी फाउन्डेशन’ नामक संस्था खोलेर सामाजिक सेवाका नाममा आफ्ना गतिविधि गरिरहेका छन् ।

मोरङ–४ का विभिन्न चोक र गल्लीहरूमा अहिले एकातिर निष्ठाको राजनीति गर्ने घिमिरेको मुस्कुराइरहेको तस्बिर छ भने अर्कोतिर उनैलाई सघाइरहेका गिरीको उपस्थिति छ । यो दृश्यले कांग्रेसका पुराना र इमान्दार कार्यकर्ताहरूलाई भने बिझाइरहेको छ । गिरीकै सक्रियता र साथका कारण गुरुराजलाई चुनाव जित्न चुनौती रहेको विश्लेषण पुराना काँग्रेस कार्यकर्ताहरु बताउँछन् ।

कांग्रेसका पुराना र इमान्दार कार्यकर्ताले घिमिरेको चुनाव प्रचारमा गिरीको उपस्थितिलाई रुचाएका छैनन् । ‘सधैं विधिको शासन र नैतिकताको कुरा गर्ने नेताकै काँधमा चढेर विवादास्पद व्यक्तिले राजनीतिक शुद्धीकरणको पाटो रोजिरहेका छन्,’ एक कार्यकर्ताले भने ।

घिमिरेजस्तो नेताले चुनावमा बाहुबल वा विवादास्पद व्यक्तिको सहारा लिँदा उनको वर्षौंदेखिको राजनीतिक उचाइ घटेको टिप्पणी भइरहेको छ । गिरीको उपस्थितिले घिमिरेको चुनावी अभियानलाई क्षति पुर्याइरहेको विश्लेषण कांग्रेसकै कार्यकर्ताहरु गर्छन् ।

गिरिले भने आफूलाई विगतको आँखाले हेर्न नहुने बताइरहेका छन् । ‘सधैं पहिलेकै जस्तो ठान्न भएन । मैले धेरै राम्रा काम पनि गरिरहेको छु,’ उनी भन्छन् ।

कांग्रेसका क्षेत्रीय सभापति विनोद बस्नेतले यसअघि भ्रष्टाचार मुद्दामा मुछिएका खुमबहादुर खड्काले पनि टिकट पाएर चुनाव लडेको दृष्टान्त दिए । गिरी कांग्रेसको क्रियाशील सदस्य रहेको उनले बताए ।

२०७६ सालमा ७७ करोडमा ठेक्का लिएको हुलाकी सडकको कटहरी खण्डको ठेक्कका कुलमान घिसिङ भौतिक पूर्वाधारमन्त्री हुँदा रद्द गरिएको छ । सो सडकको आर्थिक र भौतिक प्रगति हालसम्म २३ प्रतिशत मात्रै छ ।

सडकमा मुख्य ठेकेदार श्रेष्ठ कन्स्ट्रक्सन भए पनि काम भने गिरी समूहले लिएको थियो । सुरुमा भूपाल श्रेष्ठले पेटी ठेकेदारको रूपमा काम गरेको सडक पछिल्ललो समयमा गिरीले जिम्मा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।