विराटनगर । झापा क्षेत्र नम्बर ५ मा चुनावी समाचार संकलनका क्रममा रहेका पत्रकार अर्जुनकुमार आचार्यमाथि साङ्घातिक आक्रमण गर्ने नेकपा एमाले निकट ’भोलेन्टियर्स फोर्स’का सदस्यहरूविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।
घाइते पत्रकार आचार्य स्वयं उपस्थित भई शुक्रबार साँझ इलाका प्रहरी कार्यालय दमकमा दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएका हुन् ।
‘हाम्रोमत’ अनलाइनका कार्यकारी सम्पादक तथा रातोपाटीका संवाददाता आचार्यमाथि बिहीबार कमल गाउँपालिकाको जीवनचोकमा आक्रमण भएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरदैलो अभियान भइरहेका बेला केही महिलाहरूले ‘घण्टी’मा भोट हाल्ने बताएपछि एमाले कार्यकर्ताहरूले उनीहरूमाथि अश्लील गालीगलौज गरेका थिए । सोही घटनाको भिडियो खिचिरहेका आचार्यलाई एमाले निकट भोलेन्टियर्स फोर्सको समूहले मुक्का र बुट प्रहार गर्दै निर्घात कुटपिट गरेको थियो ।
आचार्यले दर्ता गरेको जाहेरीमा कमल गाउँपालिका–६ का युवराज पाठक सहित पाँच जनाको समूहलाई मुख्य अभियुक्तका रूपमा पक्राउ गरी कारबाही गर्न माग गरिएको छ । जाहेरीमा ‘अभद्र व्यवहार’ (मुलुकी अपराध संहिता बमोजिम) सम्बन्धी कसुरमा मुद्दा अगाडि बढाउन माग गरिएको छ । साथै, लुटिएको मोबाइल फोन, चस्मा फिर्ता गर्न, शारीरिक तथा मानसिक क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र उपचार खर्च भराउन समेत माग गरिएको छ ।
घटनाका बेला एमाले अध्यक्ष ओली केही मिटरकै दुरीमा रहे पनि आफ्नै कार्यकर्ताले पत्रकारमाथि आक्रमण गर्दा उनले कुनै चासो नदेखाएको पीडितको गुनासो छ । आक्रमणपछि बागमती अञ्चलमा दर्ता भएको २५६१ नम्बरको सेता स्करर्पियोमा आचार्यलाई अपहरण गर्ने उद्देश्यले चढाउन खोजिएको र दमक पुगेर ‘थप देखाइदिने’ धम्की दिइएको समेत जाहेरीमा उल्लेख छ । हाल आचार्यको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहार, ढाड र टाउकोमा चोट लागेको छ भने उच्च रक्तचापका कारण अवस्था अझै सामान्य भइसकेको छैन ।
यसैबीच, कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेले घटनालाई गम्भीरतापूर्वक लिएको र दोषीहरूलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भइसकेको जानकारी दिएका छन् । तर, स्थानीय स्तरमा भने अभियुक्तहरू पक्राउ पर्नेमा आशंका व्यक्त गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली विगतदेखि नै आपराधिक क्रियाकलापमा संलग्न आफ्ना कार्यकर्ताहरूलाई संरक्षण गर्न माहिर रहेको र अहिले पनि अभियुक्तहरूलाई उनकै आडमा लुकाइएका कारण प्रहरीलाई पक्राउ गर्न चुनौती देखिएको स्थानीयहरूको बुझाइ छ ।
संविधानले ग्यारेन्टी गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नै धावा बोल्ने यस्ता घटनाले निर्वाचनको निष्पक्षतामाथि समेत प्रश्न उठाएको छ । पत्रकार महासंघ र विभिन्न सञ्चार सम्बद्ध संस्थाहरूले प्रेस स्वतन्त्रताको रक्षा र दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।