लोड हुँदैछ...

मेनु

गीत गाएर मात्र पुग्दैन, संविधान र कानुनै बदल्नुपर्छ : थापा

गीत गाएर मात्र पुग्दैन, संविधान र कानुनै बदल्नुपर्छ : थापा

सुर्खेत । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कर्णालीको गरिबी र पछौटेपन अन्त्यका लागि केवल भावनामा बगेर नहुने भन्दै संविधान र कानुनका प्रावधान नै फेर्नुपर्ने बताएका छन् ।

बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कर्णालीको विकासका लागि ठोस नीतिगत परिवर्तन आवश्यक रहेकोमा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र (बालेन) साहले केही दिनअघि ‘पुराना शक्तिले कर्णाली बिगारेको’ भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै थापाले विकास ुजादु र चटकु ले नहुने बताए । ‘कर्णालीको यार्सागुम्बा, मार्सीधान र राराको गीत गाएर वा कविता भनेर मात्रै विकास हुँदैन,’ थापाले भने, ‘४० प्रतिशत गरिबी र बेरोजगारी किन छ भन्ने समीक्षा हुनुपर्छ । म आएपछि सबै ठिक हुन्छ भनेर भागेर समस्या हल हुँदैन ।’

थापाले काठमाडौँ महानगर र कर्णालीको राजश्व स्रोतको तुलना गर्दै काठमाडौँमा घरबहाल करबाटै १० अर्ब उठ्ने तर कर्णालीमा ५२ करोड मात्र संकलन हुने यथार्थ सुनाए । उनले भने, ‘कर्णालीको विकासका लागि ५२ करोड उठाउने प्रणालीलाई बदलेर ५२ अर्ब लिन सक्ने बनाउनुपर्छ । यसका लागि संविधान र कानुन बदल्न जरुरी छ ।’ साथै, उनले कर्णालीको भौगोलिक विशिष्टता अनुसार बजेट खर्च गर्नका लागि आर्थिक वर्षको सुरुवातको समय नै बदल्नुपर्ने प्रस्ताव समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।