विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा सुतिरहेका ३६ वर्षीय राजनकुमार अधिकारीमाथि धारिलो हतियार प्रहार भएको छ । शनिबार राति १०ः३० बजेतिर आफ्नै घरमा सुतिरहेका बेला उनीमाथि आक्रमण भएको हो ।
आक्रमणबाट अधिकारीको टाउको, मुख, हात र कानमा गम्भीर चोट लागेको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीबाट फागुन ५ गते मात्र घर फर्किएका अधिकारीमाथि भएको सो आक्रमणको जिम्मेवारी उनकी पत्नी रन्जना कार्की (अधिकारी) ले लिएकी छन् ।
प्रहरी नियन्त्रणमा रहेकी रन्जनाले सोधपुछका क्रममा आफूले खुर्पा प्रहार गरेको बताए पनि घटनास्थलको प्रकृति हेर्दा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीका अनुसार घटनाको वास्तविक कारण र संलग्न अन्य व्यक्तिको पहिचानका लागि अनुसन्धान भइरहेको छ ।
घटनाको थप अनुसन्धान र संलग्न हुन सक्ने अन्य सम्भावित व्यक्तिको खोजीका लागि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा टोली खटिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।