लोड हुँदैछ...

मेनु

टी–२० विश्वकपः सुपर–८ मा आज इंग्ल्याण्ड र श्रीलंका तथा भारत र दक्षिण अफ्रिका भिड्दै

टी–२० विश्वकपः सुपर–८ मा आज इंग्ल्याण्ड र श्रीलंका तथा भारत र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ चरण अन्तर्गत आज दुईवटा महत्वपूर्ण खेलहरू हुँदैछन् । आज हुने खेलहरूमा पूर्व विजेता इंग्ल्याण्डले श्रीलंकाको सामना गर्दैछ भने अर्को खेलमा भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ।

शनिबारदेखि सुरु भएको सुपर–८ अन्तर्गत आज समूह ‘ए’ र ‘बी’ का एक–एक खेल हुन लागेका हुन्। यसअघि शनिबारका लागि तय गरिएको पाकिस्तान र न्युजिल्याण्डबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो।

आजको पहिलो खेलमा इंग्ल्याण्ड र श्रीलंका भिड्दैछन्। यो खेल श्रीलंकाको पल्लेकेले स्टेडियममा दिउँसो सवा ३ बजे सुरु हुनेछ। पछिल्लो तथ्याङ्क अनुसार श्रीलंकाविरुद्ध इंग्ल्याण्ड निकै हाबी देखिएको छ। पछिल्ला पाँच भेटमा इंग्ल्याण्डले श्रीलंकालाई लगातार पराजित गरेको छ। अघिल्लो महिना श्रीलंका भ्रमणका क्रममा पनि इंग्लिस टोलीले तीनवटै खेल जितेर क्लिन स्विप गरेको थियो।

आजै हुने दोस्रो खेलमा राति सवा ७ बजे भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आयोजना हुनेछ। यी दुई देशबीच भएका पछिल्ला पाँच खेलमा भारतको पल्ला भारी देखिएको छ। भारतले ३ खेलमा जित निकाल्दा दक्षिण अफ्रिकाले एक खेल मात्र जितेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो।

सुपर–८ का यी खेलहरूले सेमिफाइनलको समीकरण तय गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।