विराटनगर । निर्वाचनलाई बढीभन्दा बढी सहभागितामूलक बनाउने र बदर मतको प्रतिशत घटाउने उद्देश्यका साथ मोरङ जिल्लाका १७ वटै स्थानीय तहका १५९ वडामा आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु गरिदै छ । निर्वाचन आयोगको देशव्यापी अभियान अन्तर्गत मोरङका सबै वडाहरूमा एक–एक जना स्वयंसेवक परिचालन गरी मतदाता शिक्षालाई तीव्रता दिइएको हो ।
आम नागरिकलाई मताधिकारको महत्त्व र मतदान गर्ने सही प्रक्रियाका विषयमा जानकारी दिन आयोगबाट स्वीकृत कार्यक्रम अनुसार मोरङका १५९ वटा वडामै यो अभियान अगाडि बढाइएको हो । जिल्लाका प्रत्येक वडामा खटिएका स्वयंसेवकहरूले यही फागुन १७ गतेसम्म मतदाताको घरदैलोमा पुगेर शिक्षा प्रदान गर्नेछन् ।
स्वयंसेवकहरूले मतदाताको बस्ती तथा घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान गर्ने सही तरिकाबारे जानकारी गराइरहेका छन् । मतदाता शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहमा यसअघि तोकिएका सम्पर्क व्यक्तिहरूलाई नै अनुगमनकर्ताको जिम्मेवारी दिई अभिमुखीकरण समेत सम्पन्न गरिसकिएको छ ।
राष्ट्रिय सन्दर्भ र आयोगको तयारी
यो अभियान निर्वाचन आयोगको देशभरकै ७५३ स्थानीय तहका ६ हजार ७४३ वटै वडामा फागुन १७ गतेसम्म सञ्चालन गर्ने छ ।
मतदाता शिक्षासँगै आयोगले निर्वाचन आचारसंहिता पालनामा पनि कडा निगरानी गरिरहेको छ । विशेषगरी सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट प्रवाह हुने मिथ्या सूचना, भ्रमपूर्ण जानकारी र घृणास्पद अभिव्यक्ति रोक्न आयोगले ‘सूचना सदाचार प्रवर्द्धन एकाइ’ मार्फत सक्रियता बढाएको छ ।
आयोगका अनुसार हालसम्म आचारसंहिता विपरीत हानिकारक सूचना उत्पादन र सम्प्रेषण गर्ने २९० जनालाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ । यस्तै, ११ वटा संस्थालाई दूरसञ्चार प्राधिकरण ऐन बमोजिम, ६५ वटालाई प्रेस काउन्सिल ऐन बमोजिम र एक वटालाई विज्ञापन नियमन गर्ने ऐन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आयोगले एकातिर मतदाता शिक्षालाई घरदैलोसम्म पुऱ्याएको छ भने अर्कोतिर भ्रामक सूचना फैलाउनेहरूमाथि कानुनी दायरा कसिलो बनाउँदै लगेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।